काठमाण्डाै – लामो समयपछि सडकमा गुड्न पाएका सार्वजनिक गाडीले यात्रु भने पर्याप्त पाउन सकेका छैनन् । गएकाे वैशाख १६ गतेदेखि ग्यारेजमा थन्किएका ठूला गाडी दुई महिनापछि आज (मङ्गलवार) देखि सञ्चालन हुन थालेका छन् ।
काठमाण्डाै जिल्ला प्रशासन कार्यालय काठमाण्डाैले हिजाे गरेको निषेध आदेशअनुसार काठमाण्डाै उपत्यकाभित्र मात्र सञ्चालन हुने २५ सिट क्षमताभन्दा बढी क्षमताका सार्वजनिक गाडी जोर–बिजोर प्रणालीअनुसार आजदेखि सञ्चालन हुन थालेका हुन् ।
बल्लतल्ल जोर–बिजोर प्रणालीअनुसार एक दिन बिराएर गाडी सञ्चालन गर्न पाए पनि काठमाण्डौ महानगरपालिकाले रत्नपार्कमा रहेकाे बसपार्क हटाइएपछि मर्कामा परेकाे चालकहरूले गुनासाे गरेका छन् । सिट क्षमताको आधा सङ्ख्यामा यात्रु बोक्नुपर्ने र त्यही सङ्ख्या पनि पुग्न नसक्दा गाडी सञ्चालनका लागि आवश्यक इन्धन पुर्याउन पनि धौ–धौ भएको उनीहरूको गुनासो छ ।
महानगरले तोकिएका बस स्टेशनमा यात्रु ओराल्न र चढाउनका लागि अत्यन्तै कम समय मात्रै बस रोक्न दिएपछि यात्रु खोज्नका लागि टुँडिखेल वरिपरि घुमेको घुम्यै गर्नुपरेको चालकहरूले गुनासो गरेका छन् ।
उनीहरूले यातायात मजदुरको समस्यालाई सरकारले बुझ्न नसकेको र अवहेलना गरेको आरोप लगाए । बूढानीलकण्ठ–रत्नपार्क रुटमा बस चलाउने चालक हिरारत्न जति भने पनि सरकारले आफूहरूको दुःख नसुन्ने गरेको गुनासो गर्नुहुन्छ ।
Comments are closed.