चैत्र ३, सरकारी गाडी सरकारी कामकाजका लागि हो । सरकारी कामकाजलाई चुस्त र दुरुस्त राख्न इन्धन, चालक आदि सबै सरकारले नै उपलब्ध गराई सरकारी सवारीसाधनको प्रयोग हुन्छ । तर यस्ता कतिपय सरकारी सवारीसाधनमा भने वर्तमान तथा पूर्वमाननीयहरूको रजाइँ छ ।
सरकारी सवारीसाधन आवश्यकताअनुसार पदमा रहँदा प्रयोग गर्न पाइन्छ । तर केही माननीय र पूर्वमाननीयहरूले भने आफू पदबाट हटिसक्दासमेत सरकारी स्रोत र साधनको दुरुपयोग गरिरहेका छन् ।
२०७४ साल जेठ २४ गते शेरबहादर देउवाको नेतृत्वमा मन्त्रीमण्डल गठन भयो । त्यो मन्त्रीमण्डलमा सामान्य प्रशासन मन्त्रालय माओवादी केन्द्रको हातमा पर्यो । माओवादीका टेकबहादुर बस्नेत सामान्य प्रशासनमन्त्री बने ।
पटक पटक थप गरिएको मन्त्रीमण्डलमा भदौ ४ गते माओवादीका तर्फबाट ८ जना राज्यमन्त्रीहरू थपिए । तीमध्ये एक थिए, माओवादी केन्द्रका सांसद वोङ्दी शेर्पा । खेजेनिम–१ ताप्लेजुङका शेर्पा माओवादी युद्धकालदेखिकै नेता थिए । मन्त्री बन्न आकाङ्क्षी बनेपछि माओवादी केन्द्रले उनको नाम सामान्य प्रशासन राज्यमनत्रीमा पठायो । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ खुवाए र शेर्पाले राज्यमन्त्रीको कुर्सी सम्हाले ।
त्यसबेला सामान्य प्रशासन मन्त्रालयले राज्यमन्त्री वोङ्दी शेर्पाका लागि बा १ झ ९१०९ नम्बरको सेतो स्करपियो गाडी उपलब्ध गरायो । शेर्पाले मन्त्रालयको मात्रै होइन, आफ्नो व्यक्तिगत र राजनीतिक कार्यक्रममा जाँदा पनि यही गाडी प्रयोग गरे ।
स्थानीय तह निर्वाचनमा काँग्रेससँग मिलेर चुनाव लडेको माओवादीले प्रदेश र सङ्घीय निर्वाचनमा भने एमालेसँग तालमेल गर्यो । चुनावी तालमेल मात्रै गरेन, बिस्तारै पार्टी एकीकरण नै गर्ने भन्दै घोषणा गर्यो । त्यसपछि चिढिएको काँग्रेसले माओवादी मन्त्रीहरूलाई २०७४ को असोज ३१ मा विनाविभागीय बनाइदिए । विनाविभागीय बनाइए पनि उनीहरूले सेवा सुविधा भने लिन छाडेनन् । सामान्य प्रशासन राज्यमन्त्री बनेका वोङ्दी शेर्पाले पनि मन्त्रालयबाट पाउने सेवा सुविधा छाडेनन् ।
विनाविभागीय बन्दासम्म त ठिकै थियो तर मन्त्री पद नै खुस्किसकेपछि पनि पूर्वमाननीय शेर्पाले सामान्य प्रशासन मन्त्रालयको सो गाडी अझै फिर्ता गरेका छैनन् । सामान्य प्रशासन मन्त्रालय आन्तरिक प्रशासन शाखाका एक अधिकारीका अनुसार गाडी फिर्ता माग्दा वोङ्दीले उल्टै थर्काउने गरेका छन् । ती अधिकारी भन्छन्, ‘हामीले पूर्वमाननीयज्यूसँग पटक पटक उक्त गाडी उपलब्ध गराइदिन आग्रह गर्यौँ । तर उनी हामीलाई उल्टै थर्काउँछन् । पहिले अरू नेता र मन्त्रीका गाडी माग अनि म पनि ल्याउँला पो भन्छन् ।’ अहिले त फोन गर्दा पनि सम्पर्कमा छैनन् । त्यही भएर हामीले गृह मन्त्रालयलाई गाडी फिर्ता ल्याइदिन पत्र लेखेका छौँ ।’
रातो पार्टीबाट
Comments are closed.