Nepal's First Video FM

फुर्सदमा मात्र विद्यालय जान्छन् बालबालिका

476

माघ १४, मधेसी बाहुल्य क्षेत्रका धेरै बालबालिका अहिले पनि विद्यालयबाहिर छन् । अभिभावकले बालबालिकालाई विद्यालयभन्दा घरायसी काममा लगाएपछि मधेसी बाहुल्य क्षेत्रका धेरै बालबालिका विद्यालयबाहिर रहेका हुन् ।

बिहानभर खेतमा घाँस काटेर दिउँसो खेतको गहुँ रेखदेख गर्न आएको डुडुवा गाउँपालिका–२, सन्तलियाकी १० वर्षीया रोशलाकुमारी बर्माले बताइन् । घाँस काट्न गएका कारण उनी विद्यालय जान सकिनन् ।

खेतको गहुँ बाँदरले खाइदिने भएकाले बाबुआमाले धपाउने जिम्मेवारी आफूलाई दिएको बताइन् । ‘विद्यालय एकदमै कम जान्छु,’ उनले भनिन् । उनी नेपाल राष्ट्रिय प्राथमिक विद्यालय सन्तलिया कक्षा पाँचमा अध्ययनरत छिन् ।

गाउँनजिकको विद्यालयमा पठनपाठन चलिरहेकै वेला डुडुवा गाउँपालिका–३, बनकट्टीका १२ वर्षीय सत्यनारायण खटिक सामान किनमेलका लागि बजार जाँँदै थिए । उनले घरायसी सामान किनमेल गर्नुपर्ने भएकाले विद्यालय नगएको बताए । ‘घरमा काम भएको दिन विद्यालय जान पाइँदैन, घरको काम सकेर मात्र विद्यालय जान पाइन्छ,’ उनले भने ।

विद्यालय बनाउन घरदैलो कार्यक्रम
विद्यालयमा विद्यार्थी आउन छाडेपछि विद्यालयले घरदैलो अभियान चलाएको प्रधानाध्यापक शर्माले जानकारी दिए । उनले घर–घरमा पुगेर आफ्ना छोराछोरीलाई नियमित रूपमा पठाउन आग्रह गरेको बताए । ‘विद्यार्थीलाई विद्यालयमा टिकाइराख्न साह्रै कठिन छ,’ उनले भने ।

विद्यालयले समय–समयमा घरदैलो र सचेतनामूलक कार्यक्रम गर्दै आएको बताउँदै उनले आफ्ना बालबालिकालाई पढाउनुपर्छ भन्ने बुझाइ अभिभावकमा नभएको बताए । ‘अभिभावकलाई जति सम्झाए पनि छोराछोरीलाई विद्यालय पठाउँदैनन्,’ उनले गुनासो गरे ।

दुईवटा कक्षाका विद्यार्थी एउटै कक्षामा पढ्दै
भर्ना भएका विद्यार्थीसमेत विद्यालय आउन छाडेपछि दुईवटा कक्षाका बालबालिकालाई सँगै राखेर अध्यापन गराउँदै आएका प्रधानाध्यापक शर्माले बताए । उनले एउटा कक्षाका विद्यार्थीलाई मात्र पढाउँदा समय खेर जाने भएकाले दुईतीनवटा कक्षाका बालबालिकालाई सँगै राखेर पढाउने गरेको जानकारी दिए । ‘विद्यार्थी संख्या एकदमै कम भएकाले दुईवटा कक्षाका बालबालिकालाई सँगै राखेर पढाउँछौँ,’ उनले भने ।

तर, सँगै राखेर पढाउँदा एउटा कक्षामा पढ्नेले बुझ्ने र अर्को कक्षामा पढ्नेले नबुझ्ने गरेको बताए । सँगै पढाउँदा फरक कक्षाका बालबालिकाले नराम्रो मान्ने गरेको उनको भनाइ छ । ‘बालबालिकालाई नराम्रो लागेर के गर्ने, एउटै कक्षाका बालबालिकालाई पढाउने वातावरण नै छैन,’ शुक्रबार तीन र चारका विद्यार्थीलाई सँगै राखेर पढाउँदै गरेका शर्माले भने ।

छात्रवृत्ति र पुस्तक लिन तँछाडमछाड
अघिपछि विद्यालय नआए पनि बालबालिका छात्रवृत्ति, पुस्तक र अन्य सुविधा वितरणका क्रममा भने आउने गरेका छन् । राहत, छात्रवृत्ति र पुस्तक विरतणका क्रममा तँछाडमछाड हुने गरेको प्रधानाध्यापक शर्माले बताए ।

भर्ना भएपछि कहिल्यै विद्यालय नआउने बालबालिका पनि छात्रवृत्ति र पुस्तक वितरणका वेला आउने गरेको उनले बताए । ‘विद्यालय सामग्री वितरणका क्रममा सम्हाल्न नसकिने विद्यार्थी आउँछन्, तँछाडमछाड भएपछि वितरण गर्न नसक्ने अवस्था पनि आउँछ,’ प्रधानाध्यापक शर्माले भने ।

भर्ना भएपछि विद्यालय आउँदैनन् बालबालिका
नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, सन्तलियामा भर्ना भएका आधाभन्दा कम विद्यार्थी नियमित रूपमा विद्यालय आउने गरेका छन् । भर्ना भएपछि परीक्षा दिन मात्र आउने गरेको विद्यालयले जनाएका छन् ।

कक्षा पाँचसम्म सञ्चालनमा रहेको उक्त विद्यालयमा विद्यार्थी भर्ना एकदमै न्यून हुने गरेको र भर्ना भएका बालबालिका पनि फुर्सदको समयमा मात्र आउने गरेको प्रधानाध्यापक रामकुमार शर्माले बताए । विद्यालयमा एक सय १२ जना विद्यार्थी भर्ना भए पनि नियमित रूपमा ४०–५० जना मात्र आउने गरेका छन् ।

उनले अभिभावकको लापर्बाहीका कारण बालबालिका नियमित रूपमा विद्यालय नआउने गरेको बताए । ‘आफ्ना छोराछोरीलाई विद्यालयभन्दा घरायसी काममा लगाउने परम्पराको अन्त्य अझै हुन सकेको छैन,’ उनले भने ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.