Nepal's First Video FM

असोजसम्म एक तिहाइ नेपालीलाई खोप: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

187

काठमाडौँ – केही साता अघिसम्म कोरोनाविरुद्ध खोपको अभाव चर्को थियो । भारतमा कोरोनाको दोस्रो लहर उच्च भएपछि रकम बुझाई खरिद गरिएको खोप पनि आउन सकेन । खोप उत्पादक मुलुकले आफ्नै नागरिकलाई पहिलो प्राथमिकता दिएपछि नेपालजस्ता मुलुकका लागि खोपमा सहज पहुँच जटिल बन्यो तर अब भने खोप सहज बन्दै गएको छ ।

मित्रराष्ट्रबाट सहयोग, कोभ्याक्स सुविधा र खरिदमार्फत धमाधम खोप आउन थालेको छ । समग्रमा ६५ लाख मात्राभन्दा बढी खोप स्वदेश आइसकेको छ । थप खोपसमेत आउने प्रक्रियामा रहेकाले नेपालीलाई अब खोपको अभाव नहुने बरु प्रभावकारी व्यवस्थापनको आवश्यकता रहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले हालसम्म नेपालमा ६५ लाख ८२ हजार ८५० डोज खोप नेपाल आइसकेको जानकारी दिए।

अझै खोप आउने क्रममा रहेकाले नेपालमा खोपको अभाव नहुने जानकारी गराउँदै उहाँले भन्नुभयो, “जसरी नेपालमा खोप आइरहेको छ, त्यही अनुपातमा खोप आउँदा असोजसम्ममा एक तिहाइ जनसङ्ख्याले खोप पाइसक्छन् । खोप निरन्तर आउने प्रक्रियामा रहेकाले अभाव नहुने स्पष्ट गर्दै प्रवक्ता पौडेलले नेपालमा हालसम्म आएको खोप खरिद गरेर ल्याइएको, अनुदान सहयोगमा आएको र कोभ्याक्स सुविधाअन्तर्गत आएको जानकारी दिए ।
नेपालमा केही दिनभित्रै ६४ लाख मात्रा खोप आउने जानकारी दिँदै उहाँले चीनसँग खरिद गरिएको ३२ लाख तत्काल आउने क्रममा रहेको बताए । प्रधानमन्त्री शेरबहादुर देउवासँग शुक्रबार नेपालका लागि चीनका राजदूत होउ यान्छीले भेटेर चीनले थप १६ लाख मात्रा खोप अनुदानमा दिने जानकारी गराउनुभयो । यो खोप नेपालले खरिद गरेभन्दा बाहेकको हो ।

प्रवक्ता पौडेलका अनुसार अब जापानबाट थप १६ लाख मात्रा खोप आउँदै छ । यो खोप कोभ्याक्स सुविधाभन्दा छुट्टै रहेको बुझाइ छ । जापानबाट आउने खोप पहिलो मात्रा कोभिसिल्ड खोप लगाएका १४ लाख वृद्धलाई दोस्रो डोज लगाउन मिल्ने भएकाले त्यसैअनुसार व्यवस्थापन गरिने छ । नेपाललाई प्रारम्भमै भारतले १० लाख र चीनले १८ लाख मात्रा खोप अनुदानमा दिइसकेको छ । चीनले सुरुमा आठ लाख मात्रा र दोस्रो पटक थप १० लाख मात्रा खोप अनुदानमा सहयोग गरेको थियो ।

भारतले पनि सुरुमा १० लाख मात्रा खोप अनुदानमा सहयोग गरेको थियो । भारतसँग सरकारले छुट्टै २० लाख मात्रा खोप गरिद गरेकोमा १० लाख मात्रा आइसकेको छ । बाँकी १० लाख मात्रा खोप आउन बाँकी छ । त्यहाँ कोरोनोको दोस्रो लहरले दिनमै साढे चार लाखसम्म मानिस सङ्क्रमित हुन थालेपछि अदालतले निर्यातमा रोक लगाएको थियो । तथापि त्यसबीचमा भारतबाटै कोभ्याक्स सुविधाअन्तर्गत तीन लाख ४८ हजार मात्रा खोप नेपाल आइसकेको छ ।
यही असार २८ गते कोभ्याक्समार्फत नै अमेरिकी सरकारले उपलब्ध गराएको जोन्सन एन्ड जोन्सनको १५ लाख ३४ हजार ८५० मात्रा खोप पनि नेपाल आइसकेको छ । यसैगरी भारतबाट नेपाली सेनाका लागि एक लाख मात्रा खोप अनुदानमा प्राप्त भई प्रयोगमा आएको छ । हालसम्म २७ लाख नेपालीले कोरोनाविरुद्ध खोप लगाइसकेका छन् ।

अमेरिकाले दिएको जोन्सन एन्ड जोन्सन खोप साउन ४ गतेबाट लगाउने तयारी छ । उक्त खोप एक डोज मात्र लगाए पुग्ने खोप हो । हालसम्म नेपालमा २७ लाख ६८ हजार नागरिकले कोभिसिल्ड र भेरोसेल खोपको पहिलो मात्रा लगाइसकेका छन् । हालसम्म ११ लाख २० हजार २८२ जनाले दुवै मात्रा खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १८ लाख २८ हजार ४८४ जनाले कोभिसिल्ड र नौ लाख ३७ हजार २२५ जनाले भेरोसेल खोपको पहिलो मात्रा लगाएका छन् । यस्तै चार लाख ६० हजार ७३४ जनाले कोभिसिल्ड र छ लाख ५९ हजार ५४८ जनाले भेरोसेल खोपको दोस्रो मात्रा लगाएका छन् । सरकारले हाल कोरोनाविरुद्धको खोप लगाउने कार्य जारी राखेको छ । खोप खरिदका लागि सरकारको प्रयास जारी छ ।

प्रवक्ता पौडेलका अनुसार खोप खरिदअन्तर्गत नेपालले हालसम्म भारतबाट १० लाख र चीनबाट आठ लाख गरेर १८ लाख मात्रा खोप ल्याइसकेको छ । चीनसँग खरिद गरेको बाँकी ३२ लाख मात्रा खोप आउन बाँकी छ भने भारतसँग खरिद गरेको १० लाख मात्रा खोप आएको छैन । चीनसँंग खरिद गरेको खोप लिन साउन ६, ७, ८ र ९ गते नेपाल वायु सेवा निगमको जहाज चीन जाँदै छ । चार पटक गरेर ३२ लाख मात्रा खोप नेपाल आउन लागेको हो ।

You might also like

Comments are closed.