काठमाडौं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका कुनै पनि बैठक बालुवाटारमा नराख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
नेपाली कांग्रेस सरकारमा गएलगत्तै प्रधानमन्त्री तथा पार्टी सभापति देउवाले सरकारी निवास बालुवाटारमा पदाधिकारी बैठक राखेका थिए। देउवाले पदाधिकारी बैठक बालुवाटारमै गरेपछि यसको चौतर्फी विरोध हुन थालेको छ।
विरोध बढ्न थालेपछि कांग्रेस नेता गगन थापाले देउवालाई पार्टीको बैठक बालुवाटारमा नराख्न आग्रह गरेका छन्।
आफूले देउवालाई बालुवाटारमा पार्टीको बैठक नराख्न अनुरोध गरेको नेता थापाले सामाजिक सञ्जालमार्फत जनाएका हुन्।
‘प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्न अनुरोध गरेका छौं। उहाँले ‘पार्टी कार्यालयमा धर्ना भएको कारणले यो पटक बालुवाटारमा भएको हो, तर जे भए पनि अब देखि त्यस्तो हुने छैन र गरिन्न’ भन्ने विश्वास दिलाउनु भएको छ,’ थापाले भनेका छन्।
यसअघिका प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बैठक राखेकोमा चौतर्फी विरोध भएको थियो।
Comments are closed.