Nepal's First Video FM

ओलम्पिक खेलकुद आजबाट, गौरिका र एलेक्सले नेपालको राष्ट्रिय झण्डा बोक्ने

281

विश्व खेलकुदको कुम्भमेला ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुद आज बाट जापानमा सुरु हुदैछ । राजधानी टोकियोमा आयोजना हुने एक विशेष कार्यक्रमका बीच ’टोकियो ओलम्पिक’ औपचारिक उद्घाटन गरिनेछ । केही खेलको प्रतिस्पर्धा भने बुधबारबाट सुरु भईसकेका छन् ।

ओलम्पिक स्टेडियममा हुने उद्घाटन समारोह नेपाली समय अनुसार अपरान्ह ४ः४५ बजे सुरु हुनेछ । उद्घाटन समारोहमा खेलाडीको मार्च पाससहित विभिन्न कार्यक्रम गरिनेछ । टोकियो ओलम्पिकमा सहभागिता जनाउन विश्वभरका खेलाडी, प्रशिक्षक र अफिसियलहरु जापान पुगिसकेका छन् । नेपालबाट खेलाडीसहित २३ सदस्यीय टोली टोकियो जापान पुगेको छ ।

टोकियो ओलम्पिकको उद्घाटन सत्रको मार्च पासमा नेपालको झण्डा पौडी खेलाडी गौरिका सिंह र एलेक्जेन्डर शाह (एलेक्स) ले बोक्ने छन्। टोकियो ओलम्पिकमा नेपालबाट ४ खेलका ५ खेलाडीले सहभागिता जनाउनेछन् । आगामी अगस्ट ८ सम्म संचालन हुने टोकियो ओलम्पिकमा पौडीबाट गौरिका र एलेक्जेन्डरसँगै एथलेटिक्सकी सरस्वती चौधरी, सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्टले नेपालको प्रतिनिधित्व गर्नेछन् ।

गौरिकाले महिला १०० सय फ्रि स्टाइल र एलेक्जेन्डरले पुरुष १०० मिटर फ्रि स्टाइलमा प्रतिस्पर्धा गर्ने छन् । कल्पनाले महिला १० मिटर एयर राइफल, सानियाले महिला ४८ केजी तौल समूह तथा सरस्वतीले महिला १०० मिटर दौडमा प्रतिस्पर्धा गर्ने छन् ।

You might also like

Comments are closed.