नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले आफूले सरकारीभन्दा सेवा राम्रो र शुल्क कम लाग्ने अस्पताल बनाइरहेको दाबी गरेका छन् । ५० करोड लगानीमा यही वर्षदेखि हस्पिटल चेन बनाउने अभियानमा रहेको उनले सोमबार संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा यस्तो दाबी गरेका हुन् ।
‘सरकारले नै एउटा सेवामूलक अस्पताल गर्न खोजेको हो । तर, स्रोत साधनले गर्दा नपुग्ने हुँदाखेरि कमसेकम सक्ने मान्छेले चाहिँ गर्नुपर्छ भन्ने सेवामूलक भावनाले मैले केही अस्पताल स्थापना गर्न खोजेको हुँ । जहाँ सरकारीभन्दा सेवा सुविधा बढी होस् र पैसा कम होस् । ती अस्पताल विशुद्ध सेवामूलक भावनाले सञ्चालन गर्न खोजेको हुँ’, उनले संसदीय समितिमा भने ।
तर, राज्यमन्त्री श्रेष्ठले अहिले सञ्चालन गरिरहेको अस्पतालको अवस्था भने उनले दाबी गरेजस्तो छैन । उनले अहिले काठमाडौंमै जनमैत्री अस्पताल र महेन्द्रनारायण निधि मेमोरियल अस्पताल सञ्चालन गरिरहेका छन् । ती अस्पतालमा सरकारी अस्पतालहरु वीर र शीक्षण अस्पतालभन्दा महँगो सेवा शुल्क छ । यी अस्पताल पनि श्रेष्ठले अभियान थालेको हस्पिटल चेन भित्रकै हुन् ।
वीर अस्पतालमा सामान्य बेड निशुल्क उपलब्ध छ भने शिक्षण अस्पतालमा दुई सय ५० रुपैयाँ तिर्नुपर्छ तर राजयमन्त्री श्रेष्ठ अध्यक्ष रहेको महेन्द्रनारायण निधि अस्पतालमा त्यही बेडको सात सय र जनमैत्री अस्पतालमा तीन सय तिर्नुपर्छ । बिरामीले क्याबिन लिएमा वीरमा एक हजार र शिक्षणमा एक हजार चार सय तिर्नुपर्छ । जब कि महेन्द्रनारायण अस्पतालमा क्याबिनको सात हजार पर्छ ।
नयाँ पत्रिका बाट
Comments are closed.