काठमाडौँ – कुमारी बैंकले काठमाडौँ महानगरपालिका, वडा नं १, नक्साल भगवती मन्दिर चोकमा जडान गरिएको ट्राफिक संकेत बत्ती एक कार्यक्रमको बीच महानगरीय ट्राफिक प्रहरी महाशाखालाई हस्तान्तरण गरेको छ । सो बैंकले महानगरीय ट्राफिक प्रहरीको समन्वयमा निर्माण गरी संचालनमा ल्याएको हो ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त ट्राफिक संकेत बत्ती जडान गर्न सहयोग गरेको जनाएको छ । उक्त ट्राफिक संकेत बत्तीको हस्तान्तरण पश्चात् बैंकका प्रमुख संचालक अधिकृत रामचन्द्र खनाल, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले संयुक्त रुपमा ट्राफिक संकेत बत्तीको संचालन शुभारम्भ गरेका छन्। कार्यक्रममा महानगरीय ट्राफिक प्रहरीका पदाधिकारीहरु, वडा नं १ कार्यालयका वडाध्यक्ष, सदस्यहरु लगायत बैैंकका पदाधिकारीहरुको उपस्थिति रहेको बैंकले जनएको छ ।
रामचन्द्र खनालज्यूले महानगरीय ट्राफिक प्रहरीसँगको यस सहकार्यबाट बैंक गौरवान्वित भएको र आगामी दिनहरुमा पनि बैंकको सहकार्य निरन्तर रहने जानकारी गराए। साथै, ट्राफिक प्रहरीसंग सम्बन्धित शुल्कहरु संकलन गर्न डिजिटल प्रविधिबाट गर्नसमेत आग्रह गरे। त्यसै अबसरमा वरिष्ठ प्रहरी उपरीक्षक जनक भट्टराईले उक्त सहयोग गरेकोमा धन्यवाद ज्ञापन गर्दै ट्राफिक संकेत बत्तीको जडानबाट यस क्षेत्रमा यातायात व्यवस्थापनमा सहज भई सवारी चाप घट्ने बताए।
वडा नं. १ का वडा अध्यक्ष भरतलाल श्रेष्ठले यस किसिमका सामाजिक कार्यमा बैंकले निरन्तर सहकार्य गर्नु पर्ने र वडा कार्यालयको पनि सहयोग रहिरहने बताए । समाजमा शान्ति, सुरक्षा कायम गर्न, विभिन्न जनहितका कार्यहरुमा दत्तचित्त भएर अगाडी बढ्दै आगामी दिनहरुमा अझ ट्राफिक प्रहरीसंग सहकार्य मार्फत सहयोग गर्दै जाने सो बैंकले प्रतिबद्ध गरेको छ ।
Comments are closed.