Nepal's First Video FM

मौद्रिक नीति आज सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी

274

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीति आज (शुक्रबार) सार्वजनिक गर्ने तयारी गरेको छ । राष्ट्र बैंक व्यवस्थापन समितिको बिहीबार साँझ बसेको बैठकले मौद्रिक नीति स्वीकृत गर्दै बोर्डमा पठाएको छ । आज बिहान साढे ८ बजेका लागि गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको बोर्ड बैठक बोलाएका छन् ।

सामान्यतया व्यवस्थापन समितिले स्वीकृत गरेर पठाएको मौद्रिक नीति बोर्डले आवश्यकता अनुसार केही नीतिगत परिमाजर्न गरेर स्वीकृत गर्ने भएकाले बिहान बस्ने बोर्ड बैठकले स्वीकृत गरेमा गभर्नरले अपराह्न ४ बजे मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको स्रोतले जनाएको छ ।

राष्ट्र बैंकले साउन पहिलो साता नै मौद्रिक नीति ल्याउने तयारी गरेको भए पनि असार अन्तिम साता भएको सरकार परिवर्तनले मौद्रिक नीति पछि सरेको थियो । सरकार परिवर्तनसँगै नयाँ सरकारले यसअघिको सरकारले अध्यादेशमार्फत् ल्याएको बजेट संशोधनका लागि प्रतिस्थापन विधेयक ल्याउने र त्योभन्दा अगाडि अघिल्लो सरकारको मूल्याङ्कन गर्न अर्थमन्त्री जनार्दन शर्माले आर्थिक श्वेतपत्र जारी गर्ने भएपछि गभर्नरले मौद्रिक नीति रोकेका थिए ।

यही बीचमा सरकारले अर्थसचिव सरुवा गरेपछि नयाँ अर्थसचिव बनेका मधु मरासिनीले गत साता राष्ट्र बैंक सञ्चालकको शपथ लिएका थिए । अर्थमन्त्री जनार्दन शर्माले मंगलरबार संसदमा आर्थिक श्वेतपत्र पेश गरेपछि मौद्रक नीतिका लागि मार्गनिर्देशन भएको भन्दै राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति ल्याउने तयारी गरेको हो ।

You might also like

Comments are closed.