काठमाडौं । होन्डाको कम मूल्यको एड्भेन्चर मोटरसाइकल आगामी हप्ता बजारमा ल्याउने भएको छ । कम्पनीले ५ दिनपछि अगस्ट १९ तारिखमा नयाँ मोटरसाइकल बजारमा उतार्ने तयारी गरेको हो ।
होन्डाले भारतमा नै पहिलो पटक उत्पादन गर्न लागेको एड्भेन्चर मोटरसाइकल २०० सीसी क्षमताको हुनेछ । होन्डा हर्नेट २.० मा आधारित ‘एनएक्स २००’ नयाँ एड्भेन्चर डिजाइनमा आउन लागेको हो ।
करिब एक महिनाअघि मात्रै ‘एनएक्स २००’ नामबाट ट्रेडमार्क दर्ता गरेको होन्डाले चाँडै नै यसलाई बजारमा उतार्न लागेको हो ।
होन्डाले भारतमा अघिल्लो वर्ष २.० प्ल्याटफर्म सार्वजनिक गरेको थियो । उक्त प्ल्याटफर्ममा कम्पनीले पहिलो मोटरसाइकल हर्नेट २.० बजारमा ल्याएको थियो । कम्पनीले यसमा हर्नेट २.० को तुलनामा फरक चेसिस प्रदान गर्ने छ, भने दुबैतिर १७ इन्चको ह्वील, अफरोड टायर, अग्लो विन्डस्कृन र नकल गार्डको प्रयोग गर्ने अनुमान गरिएको छ ।
कम्पनीले यसमा हर्नेट २.० मा प्रयोग भएको समान १८४.४ सीसी क्षमताको एयरकुल्ड, सिंगल सिलिण्डर इन्जिन प्रदान गर्ने अनुमान गरिएको छ । उक्त इन्जिनले १७.२७ पीएस पावर र १६.१ एनएम टर्क प्रदान गर्नेछ । यसको सिधा प्रतिस्पर्धा हिरो एक्सपल्स २०० सँग हुने अनुमान गरिएको छ ।
यसको डिजाइन भने होन्डा सिबी ५०० एक्सबाट प्रेरित रहेको छ । स्पोक ह्वील, सबै लाइट एलइडी, अगाडि अपसाइड डाउन फर्क र पछाडि मोनोशक यसमा पाउन सकिन्छ ।
भारतीय बजारमा १ लाख ५० हजार भारुमा विक्री सुरु हुने अपेक्षा गरिएको यो मोटरसाइकल नेपाल पनि आउने छ ।
Comments are closed.