काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा अघिल्लो साता (साउन २१-२७) मा भेला प्रशिक्षण तथा गोष्ठी अनिवार्य भर्चुअलको माध्यमबाट मात्रै आयोजना गर्ने गरी आदेश जारी भयो।
यसको अघिको आदेश हेर्ने हो भने २५ जनाभन्दा बढी सहभागी नहुने गरी कार्यक्रम गर्न सकिन्थ्यो। यही साउन २८ देखि अगामी भदौ ८ गतेसम्मका लागि जारी आदशेमा यसका अतिरिक्त राति ८ बजेभित्रमा सार्वजनिक तथा निजी सवारी गन्तव्य स्थलमा पुगिसक्नुपर्ने थप आदेश जारी भएको छ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डिप्रसाद निरौला भन्छन्, ‘राति बीच बाटोमा अलमल गर्ने अवस्था देखियो, यसले भीडभाड बढेको पाइयो, यसलाई रोक्न ८ बजेभित्र नै गन्तव्यमा पुगिसक्नुपर्ने गरी निर्णय गरिएको हो।’
स्थानीय प्रशासनले मानवीय लापरबाहीका कारण कोभिड-१९ फैलने खतरा रहेको निष्कर्ष निकाल्दै आदेशलाई केही कडाइ गर्न थालेको हो। अन्य विभिन्न दर्जनभन्दा बढी जिल्लालेसमेत कडाइ गर्दै निषेधको आदेश जारी गर्न थालिसकेका छन्। गृह मन्त्रालयका प्रवक्ता फडिन्द्रमणि पोखरेल कोरोना संक्रमण दरमा वृद्धि भएसँगै काठमाडौं, ललितपुर र भक्तपुरसहित झापा, इलाम, पर्सा, दाङ, बाँके, सुर्खेतलगायत जिल्लाले आदेशमा केही कडाइ गरेको बताए। उनका अनुसार यसरी आंशिक वा पूर्ण रुपमा आदेश जारी गर्ने ५७ जिल्ला रहेका छन्। मुलुकभर नै निषेधाज्ञामा कडाइ गर्न थालिएको छ।
Comments are closed.