Nepal's First Video FM

नयाँ पार्टी खोल्न लाग्दा माधव नेपाललाई आफ्नाले साथ छाडे

319

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ दल खोल्ने घोषणा गरेसँगै उनको साथमा को को लाग्ने हुन् चासो बनेको छ । सम्भवत भोलि नै निर्वाचन आयोगमा नयाँ दल दर्ता गर्ने तयारी पूरा गरेका नेपालले केन्द्रीय सदस्यहरुको हस्ताक्षर संकलन गरिसकेका छन् । सांसदहरु को को साथमा आउने समेत निश्चित भइसकेको छ ।

माधव नेपाललाई झलनाथ खनाल र बामदेव गौतमले नयाँ पार्टी खोल्न साथ दिने भएका छन् । खनाल नयाँ दिल्लीमा उपचाररत छन् । गौतम केन्द्रीय सदस्य र सांसदको संख्या बढाउन नेपाललाई साथ दिइरहेका छन् ।

२०५५ मा एमाले विभाजन हुँदा नेपाल महासचिव थिए । गौतमको टकराव नेपालसँगै नै भएको थियो । एमालेको नवौं महाधिवेशनमा ओलीलाई अध्यक्षका लागि गौतमले साथ दिएका थिए । जसका कारण झीनो मतान्तरले नेपाल पराजित भए । आफूबाट निकै टाढा रहेका गौतमले एमाले विभाजनको अन्तिम समयमा नेपाललाई साथ दिएका छन् । झलनाथ खनालसँग पनि नेपालको निकै टकराव भयो । तर, उनले पनि नेपाललाई अन्तिम अवस्थामा साथ दिइरहेका छन् ।

माधव नेपालका विश्वासपात्र मानिएका एमाले उपाध्यक्ष भीम रावल टाढिएका छन् । माधव नेपाल पक्षबाट रावल पटक पटक मन्त्री समेत बनेका थिए । शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने पक्षमा हस्ताक्षर गर्दा सम्म साथ रहेका रावल अहिले नेपालसँग टाढिएका छन् । उनले पार्टी विभाजनको पक्षमा नरहेको स्पष्ट पारेका छन् ।

लामो समय माधव नेपालसँग साथ रहेका एमाले सचिव गोकर्ण बिष्टले पनि साथ छाडेका छन् । उनले दल विभाजनसम्बन्धी अध्यादेशको खुलेरै विरोध गरेका छन् । अर्का एमाले सचिव योगेश भट्टराईले पनि अध्यादेशलाई सुनयोजित षड्यन्त्रको संज्ञा दिएका छन् । भट्टराई पनि लामो समय नेपालको साथमा थिए । तर, उनी पार्टी विभाजनको पक्षमा नरहेको भन्दै टाढिएका छन् ।

सुरेन्द्र पाण्डे माधव नेपालको पक्षबाट नवौं महाधिवेशनमा महासचिवका उम्मेदवा थिए । उनी पनि नेपालसँग टाढिएका छन् । उनले नेपाललाई साथ दिने या नदिने स्पष्ट पारेका छैनन् । एमाले सचिव भीम आचार्य पनि स्पष्ट छैनन् । माधव नेपालको पक्षमा लामो समय रहेका उनले कोटेश्वरमा पुगी कुनै हालतमा पार्टी विभाजनको पक्षमा नउभिने जवाफ दिएको बुझिएको छ ।

एमाले उपमहासचिव घनश्याम भुसाल भने नेपालको पक्षमा देखिएका छन् । उनी विगतमा बामदेवसँग निकट रहे । पछिल्लो समय नेपालको पक्षमा देखिएका छन् ।

You might also like

Comments are closed.