१
नेपाल टेलिकमले एउटै लाइनबाट टेलिफोन, तीव्र गतिको इन्टरनेट र टेलिभिजनसमेत चलाउन सकिने (एफटीटीएच) सेवा गत वर्ष व्यापक विस्तार गर्ने घोषणा गर्यो। तर, घोषणाअनुसार काम गर्न नसकेपछि गत वर्ष झन्डै ५० प्रतिशत आम्दानी घट्यो। महालेखा परीक्षकको शुक्रबार सार्वजनिक प्रतिवेदनअनुसार एफटीटीएच सेवाबाट प्रतिग्राहक आम्दानी ४९ दशमलव ८७ प्रतिशत घटेको छ।
२
व्यवस्थापनको अक्षमताका कारण इन्टरनेट ब्यान्डविथ शुल्कबापत टेलिकमले ठूलो रकम घाटा व्यहोर्नुपरेको छ। त्यसमा टेलिकमले ३ वटा विदेशी सेवा प्रदायक कम्पनीलाई १ अर्ब ४२ करोड ८७ लाख ७१ हजार भुक्तानी गरेको थियो। तर, खरिद क्षमताको ५० प्रतिशत मात्र प्रयोगमा आएको थियो। यसबाट ठूलो रकम नोक्सानी व्यहोर्नुपरेको टेलिकम स्रोतको भनाइ छ।
३
तीव्र गति र उच्च क्षमताको डाटा ट्रान्सफर गर्ने (फोरजी) सेवा विस्तारमा हेलचक्र्याइँ गर्दा टेलिकमले ठूलो मात्रामा नाफा गुमाएको छ। करिब २० अर्ब लगानीको फोरजी परियोजना डेढ वर्षअघि सम्पन्न गर्नुपर्ने थियो। तर, अझै सकिएको छैन। त्यसमा अझै लोसे पारा अपनाउने गरिएको छ। टेलिकमले त्यस यता न कुनै निर्णय गरेको छ, न त कार्यतालिका परिमार्जन गर्ने आँटै गरेको छ।
४
टेलिकममा ५ अर्ब ६० करोड ४६ लाखको पुँजीगत उपकरण र अन्य सामान खरिद भएको छ। ती सामान सप्लायर्सकै अधिनमा रहे पनि पुँजीगत कार्य प्रगतिमा समावेश गरिएको छ। महालेखाको प्रतिवेदन भन्छ, ‘ती सामानको मूल्य र सम्पत्ति यकिन गर्न सकिएन।’
नेपाल टेलिकमभित्र बढ्दो अनियमितता, आर्थिक अनुशासनहीनता एवं व्यवस्थापकीय अक्षमताका यी केही उदाहरण हुन्। अपारदर्शी खर्च प्रणाली, कमिसनको चक्कर ठूलो मात्रामा सामान खरिद गर्ने तर उपयोग गर्न नसक्ने यसका मुख्य रोग हुन्।
२० अर्ब लगानीको ‘फोरजी सेवा’, अर्बौंको इन्टरनेट (फाइबर टु दिम होम) सेवा, अर्बौंको ‘फोन पे’ सेवा लथालिंग हुँदा टेलिकम डुब्ने अवस्थामा पुगेको छ। स्रोत आन्पूर्ण पोस्ट
Comments are closed.