चैत ४, सुनसरीकोे बराहक्षेत्र नगरपालिका-११ इक्राही बस्तीमा गयराति भिषण आगलागी भएको छ । आगलागीवाट ६० लाख बढीको नोक्सानी भएको प्रारम्भिक अनुमान गरिएको छ ।
आगलागीबाट कम्तीमा बस्तीमा रहेका ६२ परिवारको झण्डै आगलागीमा परी बस्तीमा रहेका ८२ घर जलेर नष्ट भएको वडाध्यक्ष केदार विष्टले प्रारम्भिक जानकारी दिए । क्षतिको यकिन विवरण अहिलेसम्म नआएको उनको भनाई छ ।
आगलागीमा बस्ती नै सखाप भएको तथा केही बालबालिका पनि सामान्य घाइते भएका छन् भने दुईवटा चौपाया जलेर मरेका छन् । आगो कसरी लाग्यो भन्ने कारण अहिलेसम्म खुल्न नसकेको प्रहरीको भनाई छ ।
बराहक्षेत्र नगरपालिकाका प्रमुख लिलम खनालले नगरपालिकाले तत्काल आपत्कालीन राहतका विषयमा अहिले बिहानै स्थलगत अवलोकन गर्ने कार्य भइरहेको तथा आपतकालीन सहयोग उपलब्ध गराउन नगरपालिकाले तयारी गरिरहेको जानकारी दिए ।
बस्ती नै सखाप हुने गरी लागेको आगो इटहरी, धरान, इनरुवा र राजविराजबाट गएका चार बारुणयन्त्र तथा नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरी एवं स्थानीयवासीको सक्रियतामा राति १ बजेतिर पूर्ण नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमौरियाले जानकारी दिए ।
Comments are closed.