काठमाडौँ, कोरोना भाइरसको संक्रमणको तेस्रो लहर आउने वा नआउने सर्वसाधारणमा निर्भर भएको जनस्वास्थ्यविदले जनाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अबको एक महिना अर्थात् असोज दोस्रो हप्ता संक्रमणको तेस्रो लहर आउने चेतावनी दिएको छ।
तेस्रो लहर आउने वा नआउने सर्वसाधारणमा निर्भर हुने विज्ञले बताएका छन्। निषेधाज्ञा खुकुलो र चाडपर्व सुरु भएसँगै आउजाउ बढेको र जनस्वास्थ्य सुरक्षा मापदण्ड लागू नगर्दा तेस्रो लहरको जोखिम बढेको बताइएको छ।
अहिले जनस्वाथ्यका मापदण्ड लागू नगर्दा गत साउनदेखि उकालो लागेको कोरोना भाइरस संक्रमण दर अहिले पनि जारी छ। गत साउन १ गते २ हजार ९३६ मा कोरोना भाइरस संक्रमण देखिएकामा गत साउन ७ गतेसम्म आइपुग्दा २ हजार ७१४ जना संक्रमित पुगेका छन्। यस्तै गत शुक्रबार २ हजार ६५, भदौ १० गते २ हजार ४३३, भदौ ९ गते २ हजार ४८२, भदौ ८ गते २ हजार ५२५ जनामा संक्रमण पुष्टि भएको थियो।
मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले तेस्रो लहर आउने वा नआउने सर्वसाधारणमा निर्भर भएको बताए। ‘सर्वसाधारणले जनस्वास्थ्यका मापदण्ड लागू गरे भने तेस्रो लहर आउने सम्भावना कम हुन्छ’, उनले भने, ‘तेस्रो लहर नेपालमा भित्र्याउने कि नभित्र्याउने, कस्तो भेरियन्ट ल्याउने भन्ने जनताको हातमा छ।’ भीडभाडमा हिँड्ने, जनस्वास्थ्यका मापदण्ड लागू नगर्ने हो भने नेपालमा पनि तेस्रो लहर नआउला भन्न नसकिने उनको भनाइ छ। उनले सरकारले मात्र संक्रमण नियन्त्रण गर्न नसक्ने भन्दै सर्वसाधारणले पालना गरेको मापदण्डका आधारमा संक्रमण नियन्त्रण गर्न सकिने जानकारी दिए।
गतवर्ष निधेषाज्ञा खुला भएसँगै सर्वसाधारणले जनस्वास्थ्यमा मापदण्ड लागू नगरेकाले गत चैतमा दोस्रो सातादेखि दोस्रो लहरको संक्रमण फैलिएको थियो। दोस्रो लहरमा मुलुकमा धेरै नै मानवीय क्षति भएको थियो। नेपालमा अहिले कोभिड-१९ को डेल्टा भाइरस रहेको छ।
संक्रमणको चौथो तह
मन्त्रालयका प्रवक्ता डा. पौडेलका अनुसार अहिले नेपालमा समुदायस्तरमा संक्रमण फैलिइरहेको छ। ‘अहिले समुदायस्तरमा संक्रमण मज्जाले फैलिरहेको छ। यसरी फैलिनु भनेको देशको सबै भागमा संक्रमणको तेस्रो वा चौथो तह भन्ने बुझिन्छ’, उनले भने, ‘कुनै पनि जिल्ला वा गाउँमा संक्रमण छैन भन्ने अवस्था छैन। संक्रमण फैलिइरहेको हुनाले कति सचेत भएर रोक्न सक्छौं भन्ने कुरा हो।’
उनले तेस्रो लहरका लागि अहिले मानिसमा बनेको रोग प्रतिरोधात्मक क्षमताले कति काम गर्छ भन्ने अध्ययनका क्रममा रहेको जानकारी दिए। ५/६ महिनाअघि खोप लगाएका मानिसको पनि रोग प्रतिरोधात्मक क्षमता घटेकाले तेस्रो लहरसँग सचेत हुनुपर्ने उनले बताए। ‘अहिलेभन्दा कमजोर भेरियन्ट आए समस्या हुँदैन’, उनले भने, ‘तर अहिलेकोभन्दा बलियो आए समस्या आउन सक्छ।’
पिसिआर परीक्षण गर्दा अहिले १९.५ प्रतिशतमा संक्रमण देखिएको छ। संक्रमित सबैले परीक्षण नगराउँदा पनि संक्रमणको यकीन तथ्यांक बाहिर नआएको मन्त्रालयले जनाएको छ।
अहिले पनि सामान्य रुघाखोकी, ज्वरो आएका मानिस परीक्षण गराउन नगएकाले घरमै संक्रमित रहेका मन्त्रालयका प्रवक्ता डा. पौडेलले जानकारी दिए। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. अनुप बाँस्तोलाले मानिस आफैं सचेत भएर संक्रमणलाई रोक्नुपर्ने बताउँछन्। उनले दैनिक १० देखि २० जना अस्पतालमा आइरहेका भन्दै खोप लगाएका मानिसबाट पनि संक्रमण सर्नसक्ने भएकाले स्वास्थ्यको मापदण्ड लागू गर्न आग्रह गरे।
मन्त्रालयले तेस्रो लहर आउनसक्ने भएकाले सबै स्वास्थ्य संघसंस्थालाई अक्सिजन, शय्यालगायतका पूर्वाधार तयारी अवस्थामा राख्न अनुरोध गरिसकेको छ। तेस्रो लहरले बालबालिकालाई बढी प्रभाव पार्ने भएकाले उनीहरुका लागि सघन उपचार कक्ष र भेन्टिलेटर तयारी अवस्थामा राख्न निर्देशनसमेत दिइएको छ।
मन्त्रालयले कामै नपरी घर बाहिर निस्किने, अनावश्यकरुपमा जमघट गर्ने जस्ता कार्य गर्दा कोरोना फैलिएर तेस्रो लहर आउनसक्ने तर्फ सचेत गराएको छ। त्यसैले जिम्मेवार नागरिक भई भीडभाड भएको ठाउँमा नजान र घरबाट निस्किँदा सधैं सही तरिकाले मास्क लगाउन र एकअर्काबीच कम्तीमा दुई मिटरको दूरी कायम गर्न मन्त्रालयले आग्रह गरेको छ। स्रोत हेल्थ पोस्ट
Comments are closed.