Nepal's First Video FM

प्रधानमन्त्री देउवासहित सत्तारुढ दलका तीन नेताबीच भेटवार्ता

302

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारुढ दलका तीन नेताबीच आइतबार भेटवार्ता भएको छ । सरकार गठनको डेढ महिना भइसक्दा पनि मन्त्रिपरिषद विस्तार गर्न नसकेका प्रधानमन्त्री देउवाले आइतबार विहान सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालसँग छलफल गरेको हो ।

बालुवाटारमा तीन नेताबीच भएको भेटमा मन्त्रिपरिषद् विस्तारका सम्बन्धमा छलफल भएको बालुवाटार निकट स्रोतले जनाएको छ। वर्तममान गठबन्धनका मुख्य सारथि मानिएका माधव नेपालको दल दर्ताका लागि समय लागेकाले प्रधानमन्त्री देउवाले डेढ महिनासम्म पनि सरकारलाई पूर्णता दिन सकेको छैन ।

हाल मन्त्रिमण्डलमा प्रधानमन्त्रीसहित ६ जना रहेका छन् । जसमा कांग्रेस र माओवादीका दुई/दुई मन्त्री र कांग्रेसका तर्फबाट एक राज्यमन्त्री रहेका छन् ।
सरकारले अध्यादेश ल्याएरै नेकपा एमाले र जसपा विभाजनका लागि सहजीकरण गरेको थियो । दल विभाजनका लागि अध्यादेश ल्याउने देउवा सरकारको निर्णयको सर्वत्र आलोचना भए पनि त्यही अध्यादेशमा टेकेर नेपाल र महन्थ ठाकुरले लोकतान्त्रिक समाजवादी पार्टी दर्ता गराइसकेका छन् ।

सरकारमा नेपालको नेकपा (एस), जसपा जाने निश्चित भइसकेको छ भने राष्ट्रिय जनमोर्चाले नजाने जनाइसकेको छ । प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएको लोसपा पनि उपयुक्त स्थान पाए सरकारमा जानसक्ने बताइएको छ ।

You might also like

Comments are closed.