काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले कोरोना भाइरसविरुद्धको लडाइँ सरकारको प्राथमिकतामा रहेकाले थप एक करोड खोप ल्याउन पहल भइरहेको बताएका छन् । त्यसमा ४० लाख मोडर्ना र ६० लाख फाइजर खोप ल्याइने उनले बताएका हुन्।
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६२औँ वार्षिक कार्यक्रममा सोमबार सम्बोधन गर्दै उनले प्रसूतिसम्बन्धी एकमात्र सरकारी अस्पताल भएकाले यो अस्पतालको सेवा अझै विस्तार गर्दै लैजानुपर्नेमा जोड दिए । प्रसूति भएका कुनै पनि उमेर समूूहका महिलालाई तुरुन्तै खोप लगाउने व्यवस्था गरिने बताउँदै राज्यमन्त्री श्रेष्ठले प्रसूति अस्पताललाई स्त्रीको स्वास्थ्य हेरचाह तथा अनुसन्धान केन्द्रका रूपमा विकास गर्नुपर्ने बताए। अस्पताललाई सुविधासम्पन्न बनाउन मन्त्रालय लागिपरेको जानकारी उनले गराए ।
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरभित्रका अस्पतालहरूको विकासका लागि महानगरले सहयोग गर्ने बताए। अस्पताललाई आवश्यक ४० वटा भेन्टिलेटर महानगरले वितरण गरिसकेको मन्त्रि श्रेष्ठले जानकारी गराए। उक्त कार्यक्रममा स्वास्थ्यसचिव डा. रोशन पोखरेलले प्रसूति अस्पतालमा सात सय शय्या थप गरिने बताए।
अस्पतालका निर्देशक डा. सङ्गीताकौशल मिश्राले ‘ह्युमन मिल्क बैङ्क’ र ‘टेस्ट ट्युब’बाट बच्चा जन्माउन प्रक्रिया सुरु गरिने जानकारी दिए । मिश्राले अस्पतालमा प्रत्येक वर्ष करिब २२ हजार महिलाले प्रसूति सेवा लिने गरेको बताए ।
Comments are closed.