चैत ४, राष्ट्रियसभाको उपाध्यक्षमा माओवादी केन्द्रकी उम्मेदवार शशिकला दाहाल विजयी भएकी छन् ।
आइतबार संसद भवन नयाँ वानेश्वरमा भएको चुनावमा दाहालले ४५ मत ल्याएर विजयी भएकी छन् भने विपक्षमा नेपाली कांग्रेसकी बृन्दादेवी आले रानाले ११ मत प्राप्त गरे ।
आइतबारको राष्ट्रियसभा बैठकमा ५६ जना सांसद उपस्थित रहेका थिए । राष्ट्रियसभाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार गणेशप्रसाद तिमिल्सिना निर्वाचित भैसकेका छन् ।
प्रतिनिधिसभाको उपाध्यक्षमा शुक्रबार शिवमाया तुम्बाहाम्फे विजयी भएकी थिइन् । राष्ट्रिय सभाको उपाध्यक्ष भने माओवादी केन्द्रको भागमा परेको थियो ।
बैठकमा एमालेका २९ र माओवादी केन्द्रका १३ गरी वाम गठबन्धनका ४२ जना सांसद रहेका छन् । कांग्रेसका १३, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीका क्रमशः २ २ सांसद रहेका छन् ।
Comments are closed.