काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारी कर्मचारीलाई नियम, कानुनको परिधि र पेसागत मर्यादामा रहेर निष्पक्ष सेवा प्रवाह गर्न निर्देशन दिएको छ । नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसका अवसरमा शनिबार आयोजित कार्यक्रममा देउवाले भने,‘‘सरकार छ भन्ने कुरा सरकारी कर्मचारीले दिएको सेवाका आधारमा जनताले अनुभूति गर्ने हो । सम्पूर्ण कर्मचारीले अनुशासनमा रहेर पेसागत मर्यादामा रहेर नियम, कानुनअनुसारको सेवा प्रवाह गर्नुपर्छ ।’’
कार्यक्रममा युनियनद्वारा प्रकाशित पुस्तक ‘कर्मचारी’को प्रधानमन्त्रीले विमोचन गरेको छ । उनले भने, ‘‘कर्मचारीतन्त्र स्थायी सरकार हो, राजनीतिक नेतृत्व फेरबदल भइरहन्छ तर ऐन, नियम, कानुनका आधारमा रहेछ । पारदर्शी रूपमा जनतालाई नियमित सेवा उपलब्ध गराउने तपाईंहरू हो ।’’ उनले नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा युनियन कर्मचारी क्षेत्रको बलियो सङ्गठन भएको बताए।
आफूले युनियनबाट कर्मचारी प्रशासन सुधारका लागि मर्यादित बनाउने, कर्मचारीको हक–हितका लागि सक्रिय हुने आशा अपेक्षा लिएको प्रधानमन्त्रीले बताएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव बद्री तिवारीले जानकारी दिए । कार्यक्रममा नेपाली काँगे्रसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाले सुशासन नै प्रजातन्त्रको मूलभूत मर्म भएको प्रस्ट पारे।
त्यस अवसरमा युनियनले पूर्वसचिव गोपीनाथ मैनालीलाई दोसल्ला ओढाएर ताम्रपत्रले सम्मान गरिएको छ । कार्यक्रममा युनियनका अध्यक्ष गोपाल पोखरेलले
युनियनका गतिविधिबारे जानकारी गराएको थियो ।
Comments are closed.