काठमाडौं – सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीच बिहीबार भेटवार्ता भएको छ । हात्तिवनस्थित जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको निजी निवासमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीचमा मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजनाबारे छलफल भएको जानकारी जसपा अध्यक्ष यादवका प्रेस संयोजक महेश चौरासियाले दिए।
बिहीबार एमसीसीका प्रतिनिधिहरु समेत नेपाल आइसक्नुभएको अवस्थामा यसबारे कसरी साझा धारणा बनाउन वा टेबुल गर्न सकिन्छ भन्ने विषयमा सत्तागठबन्धनका काँग्रेस तीन दलका शीर्ष नेताहरुबीच छलफल भएको चौरासियाले बताए। एमसीसीका सम्बन्धमा काँग्रेसमा कुनै विवाद नरहेपनि सत्ता गठबन्धनका अन्य दलहरुबीचमा सहमति जुट्न सकेको छैन ।
यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएको झण्डै ६० दिन पुग्न लाग्दा पनि मन्त्रीपरिषद् विस्तारले पूर्णता पाउन सकेको छैन । मन्त्रीपरिषद् विस्तारलाई पनि छिटोभन्दा छिटो पूर्णता दिने विषयमा शीर्ष नेताहरुबीच छलफल भएको हो, चौरासियाले बताउनुभयो । बैठकमा यिनै दुई मुख्य विषयमा बिहान ९ बजेदेखि भण्डै दुई घण्टासम्म छलफल भएको जनाइएको छ ।
Comments are closed.