काठमाडौँ, माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकिकृत समाजवादी) ले बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई समर्थन नगर्ने निर्णय गरेको छ । गत भदौ २ गते मनोनित भएकी मुख्यमन्त्री शाक्यलाई समर्थन नगरी आफ्नै नेतृत्वमा सरकार बनाउने पहल गर्ने निर्णयमा एकिकृत समाजवादी पुगेको हो ।
एकिकृत समाजवादीमा रहेका १३ सांसदको बैठक आइतबार बसेको थियो । बैठकले राजेन्द्र पाण्डेलाई संसदीय दलको नेता चुन्दै मुख्यमन्त्री शाक्यलाई समर्थन गर्न नसक्ने निर्णय गरेको छ ।
बैठकले मुख्यमन्त्री शाक्यलाई आफ्नो समर्थन नरहेको जानकारी संसद सचिवालयलाई जनकारी गराउने निर्णय गरेको छ । यससँगै मुख्यमन्त्री शाक्य अल्पमतमा परेकी हुन् । एमाले विभाजन हुँदा माधवकुमार नेपाल समूह छाडेर एमालेमै बसेकी उनी २ भदौमा मुख्यमन्त्री बनेकी थिइन् ।
१०९ सदस्यीय प्रदेशसभामा एमालेको प्रष्ट बहुमत थियो । ५५ मध्ये १३ सांसदले एकीकृत समाजवादी रोजेपछि एमालेको सांसद ४२ मात्र कायम भएको छ ।
अब मुख्यमन्त्री शाक्यले विश्वासको मत लिनुपर्छ । नभए अविश्वासको प्रस्ताव दर्ता गर्ने पाँचदलीय गठबन्धनको तयारी छ । गठबन्धनमा एकीकृत समाजवादीले मुख्यमन्त्री दाबी गरेको छ भने नेपाली कांग्रेसका प्रदेश संसदीय दलका नेता ईन्द्र बानियाँले पनि मुख्यमन्त्री बन्नको लागि लबिङ गरिरहेका छन् ।
Comments are closed.