Nepal's First Video FM

सुमारको निष्कर्ष – ‘एमसीसी नेपालमा राजनीतिक लाभका लागि प्रयोग गर्न खोजियो’

278

काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) उपाध्यक्ष फतिमा सुमारले एमसिसीलाई नेपालमा राजनीतिक लाभका लागि प्रयोग गर्न खोजेको आरोप लगाएकी छन्।

चारदिने नेपाल भ्रमण सकेर स्वदेश फर्किनुअघि काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले भनिन्, ‘एमसिसी अमेरिकी जनताका तर्फबाट गरिएको निस्वार्थ आर्थिक सहयोग भए पनि नेपालमा यसमा राजनीतीकरण गर्ने र भ्रम सिर्जना गर्ने काम भयो।’

सुमारले नेपालमा यो सम्झौता संसद्बाट अनुमोदनका लागि ढिला भइसकेको बताइन्। सँगसँगै उनले नेपालको संसद्ले यसलाई छिटै अनुमोदन गर्ने विश्वास पनि व्यक्त गरिन्।

उनले एमसिसीमा कुनै सैन्य स्वार्थ नरहेको र विगतमा अमेरिकाले नेपाललाई गरेको सहयोगकै निरन्तरता भएको स्पष्ट पारिन्। एमसिसी नेपालकै आग्रहमा गरिएको सम्झौता भएकाले यसमा अनावश्यक आशंका गर्न नहुने उनको भनाइ थियो।

गत बिहीबार नेपाल आएकी सुमारले यहाँको बसाइका क्रममा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराई तथा उपेन्द्र यादव, ऊर्जामन्त्री पम्फा भुसाल र अर्थमन्त्री जनार्दन शर्मासँग भेट गरिन्।

राजनीतिक भेटका क्रममा उनले एमसिसीबारे उत्पन्न आशंका मेटाउन प्रयास गर्नुका साथै यो सम्झौता नेपालको हितमा रहेकाले कार्यान्वयनमा सहयोग गर्न आग्रह पनि गरिन्। यो खबर आजको नागरिक दैनिकमा छ ।

You might also like

Comments are closed.