चैत्र ३, नेपाली क्रिकेटको इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो सफलता हासिल गरेको नेपाली क्रिकेट टिम आज (सोमबार) साँझ नेपाल फर्किँदैछ ।
जिम्बावेमा जारी विश्वकप छनोट प्रतियोगितामा सफलता हासिल गर्दै चार वर्षका लागि एक दिवसीय मान्यता लिएर नेपाली टिम साँझ ५ः५५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्डिङ गर्दैछ ।
प्रतियोगिताको प्लेअफमा पपुवा न्युगिनीलाई हराउँदै नेपाल एशोसिएट राष्ट्रहरुमा तेस्रो हुँदै चार वर्षका लागि एक दिवसीय मान्यताको टिकट सुरक्षित गर्न सफल भएको हो ।
के हुन्छ त आज विमानस्थलमा ?
अहिलेसम्मकै ठूलो सफलता हासिल गरेको नेपाली टिमलाई स्वागत गर्न सबै लालायित छन् ।
कप्तान पारस खड्काको नेतृत्वमा सफलता चुमेको नेपाली टिमलाई स्वागत कसरी गर्ने भन्नेबारे सरकारले कुनै निर्णय गरेको छैन ।
नामिबियामा भएको डिभिजन टु पछि सरकारले हतारहतार गर्दै खेलाडीहरुलाई जनही तीन तीन लाख रुपैयाँ बाँडेको एक महिना पनि पुगेको छैन ।
त्यसैले तत्काल सरकारले रकम नै बाँड्ने सोंच बनाएको छैन । खेलाडीलाई स्वागत भने भब्य बनाउने बुझिएको छ ।
पहिलो पटक मन्त्री भएपछि खेलकुदको औपचारिक कार्यक्रमका रुपमा नवनियुक्त युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार विश्वकर्मा पनि नेपाली टिमको स्वागत गर्न जानेछन् ।
त्यसैगरी राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिवदेखि पदाधिकारी, निलम्बित नेपाल क्रिकेट संघका पदाधिकारीहरु, क्रिकेटप्रेमीहरु, संचारकर्मी लगायतको उल्लेख्य सहभागीता हुनेछ ।
सामाजिक संजालहरुमा ‘नेपाली क्रिकेट टोलीलाई स्वागत गर्न जाने होइन ?’ भन्ने सन्देशसमेत दिन थालिएको छ ।
Comments are closed.