काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाले जनताको चाहना र राष्ट्रको आवश्यकताभन्दा ठूलो केही हुन नसक्ने बताउँदै आफूले कानूनभन्दा बाहिर गएर कुनै काम नगर्ने धारणा राखेका छन् । शनिबार संसद भवन नयाँ बानेश्वरमा राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले आयोजना गरेको विधायिकी खुलापन–लोकतन्त्र मेलालाई सम्बोधन गर्दै सभामुख सापकोटाले यस्तो धारणा राखेका हुन् ।
त्यस्तै उनले संसदलाई अझै प्रभावकारी बनाउनका लागि अहिलेकै गतिमा सन्तुष्ट भएर बस्ने अवस्था नरहेकाले संसदलाई प्रभावकारी बनाउन भूमिका खेल्ने बताए । आवश्यक परे प्रतिनिधि सभाले प्रस्ताव पास गरेर मात्रै आफूलाई विघटन गर्न पाउनुपर्ने व्यवस्था हुनुपर्ने उनको भनाइ छ ।
उनले प्रतिनिधि सभाको विघटन प्रतिनिधि सभाले मात्रै गर्न सके सबैभन्दा लोकतान्त्रिक हुने बताए । सबैभन्दा वैज्ञानिक र जनताको सार्वभौमिक अधिकारको सम्मानका लागि पनि यस्तो व्यवस्था हुनुपर्ने उनको भनाइ छ ।
Comments are closed.