काठमाडौँ, गायक एवं मोडल दुर्गेश थापाले ‘बहिष्कार’ बोलको नयाँ गीत ल्याएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा एक पोष्टर सार्वजनिक गरेका थिए, ‘बहिष्कार’ शीर्षकमा गीत ल्याउने तयारी गरेको जानकारी दिएका थिए।
‘बीच्च बीच्चमा ४ –ख्यास्स पुतली’ विवादमा तानिएपछि दुर्गेशले ‘बहिष्कार’ गीत ल्याउन लागेका थिए । लामो समय पछि उनले उक्त गीत बजारमा ल्याएका हुन्।
दुर्गेशले केही दिनअघि ‘बीच्च बीच्चमा ४ –ख्यास्स पुतली’ बोलको तीज सार्वजनिक गरेका थिए । सो गीत ल्याएसँगै उनी त्यसमा प्रयोग भएको शब्दहरुले तीज पर्व र महिलाहरुको अपमान गरेको आरोपसहित विवादमा तानिए । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले गीतलाई लिएर दुर्गेशलाई बहिष्कारको निर्णय गर्यो ।
प्रतिष्ठानले बहिष्कारको निर्णय गरेसँगै दुर्गेशले ‘बहिष्कार’ शब्दलाई नै शिर्षक बनाएर गीत सार्वजनिक गरेका हुन् ।दुर्गेशले भने–‘यसअघि पनि मलाई आलु जस्तो गायक भन्दा यही शिर्षकमा गीत सार्वजनिक गरेँ । अहिले ‘बहिष्कार’को कुरा आइरहँदा यही शिर्षकलाई नै लिएर गीत बजारमा ल्याएका हुँ ।’
उनले, यो गीत राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानप्रति लक्षित गरेर तयार नपार्ने पनि बताएका छन् । गीतको रेकर्डिङ केही समय अगाडीनै बनाएका थिए। दुर्गेशले आफूले अहिलेको पुस्ताले जुन खालको गीत खोज्छन्, सोही अनुसार आफू पनि अगाडि बढ्ने गरेको दाबी गरेका छन् ।
फेसबुकमा ‘बहिष्कार’ गीतको पोष्टर सार्वजनिक गर्दै दुर्गेश प्रतिष्ठानले आफ्नो अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाएको गुनासो गरेका थिए । प्रतिष्ठानले जबरजस्त शब्दलाई अश्लिल परिभाषित गरेर अर्को शब्दकोष खडा गर्न लागेको समेत आरोप उनले लगाएका छन् ।
प्रतिष्ठानको पदमा बसिसकेका केही अग्रजहरुले समेत विवादित गीत सार्वजनिक गरिसकेको उल्लेख गर्दै दुर्गेशले सो समयमा विरोध नभएकोमा आश्चर्य प्रकट गरेका छन् ।
Comments are closed.