नवलपरासी, पूर्वयुवराज्ञी हिमानी शाहले देशलाई कसरी अघि बढाउने भनेर एक पटक सोच्ने बेला आएको बताउनुभएको छ ।
शुक्रवार नवलपरासीका बाढी पीडितलाई राहत वितरण गर्ने कार्यक्रममा पूर्वयुवराज्ञी शाहले नेपाली भएको नाताले सबैले एक पटक देश विकासका लागि सोच्ने बेला आएको बताउनुभयो ।
उहाँले आय आर्जनका लागि अब दिगो घरेलु उद्योग सञ्जाल स्थापना गरी युवा र महिलाको गरिबी निवारण गर्नुपर्ने बताउनुभयो । युवा र महिलालाई गरिबी निवारण गर्नका लागि नयाँ तरिकाको अन्वेषण आवश्यक रहेको भन्दै पूर्वयुवराज्ञी शाहले कृषि क्षेत्रमा किसानले सामना गरिरहेका समस्याहरूको समाधान गर्नुपर्ने बताउनुभयो । उहाँले नेपालबाट विदेश पलायन भइरहेको प्रतिभालाई रोक्नुपर्ने बताउनुभयो ।
पूर्वयुवराज्ञी शाहले भन्नुभयो, ‘नेपाली हुनुको नाताले अब समय आयो, सबै एक भएर सोचौँ, मनन गरौँ कि हामी हाम्रो देशलाई कसरी उत्थान गर्न सक्छौँ, आय आर्जनका लागि दिगो घरेलु उद्योगको सञ्जाल स्थापना गरी त्यसमार्फत युवा र महिला वर्गको गरिबी निवारणमा टेवा, सेवा प्रदान गर्ने कोषको विविध लक्ष्यमध्येको एक हो, यसका लागि नवीन परिवर्तनात्मक तरिकाको खोज अन्वेषण आवश्यक छ । सबै नेपालीलाई निश्चित समयभित्र कोरोनाविरुद्धको खोपको सुनिश्चित गर्न आवश्यक छ ।
कृषि क्षेत्रमा रहँदै आएका, किसानले भोगिरहेका समस्याको समाधान गरिनुपर्छ, पर्यावरण सन्तुलनका लागि हरित प्रयोग, नेपाल र नेपालीका लागि स्थानीय लक्ष्य, नेपाली वन, नेपाली वस्तु किन ? भन्नेजस्ता नाराहरू आज अझ बढी यथार्थ भएको छ । प्रतिभा पलायन र ज्ञान, सीप एवम् क्षमताबीचको दुरी परिपूर्ण गर्नलाई हामी न त नजरअन्दाज गर्न सक्छौँ, न त यो स्थितिलाई सहेर बस्ने विलासिताको सुविधा नै हामीसँग बाँकी रहेको छ ।’
पूर्व युवराज्ञी शाहले विगतबाट सिक्दै वर्तमानमा जीवन्त रहेर, साझा भविष्यको परिकल्पनाको साथ नव सुधार गर्दै देशलाई समृद्ध बनाउनुपर्ने बताउनुभयो । उहाँले देशको सेवा गरेमात्रै देशले हाम्रो लालनपालन गर्ने भन्दै विकसित देश निर्माणका लागि प्रयत्न गरिरहनुपर्ने बताउनुभयो ।
Comments are closed.