काठमाडौँ, भक्तपुरको राधेराधेस्थित भाटभटेनीले कालोबजारी गरेको भन्दै भक्तपुर जिल्ला प्रशासनले ५० हजार जरिवाना गरेको छ।
प्रशासन कार्यालयले अनुगमन गर्ने क्रममा विभिन्न वस्तुमा भाटभटेनीले कालोबजारी गरिएको पाइएको हो। भाटभटेनीले चिनी र पानीमा पनि कालोबजारी गरेको पाइएको प्रशासनले जनाएको छ।
जिल्ला प्रशासन कार्यालय भक्तपुरको नेतृत्वमा बिहीबार बजार अनुगमन गर्ने क्रममा भाटभटेनीले खरिद बिलबिजक साथमा नराखेको, तरकारीका प्याकेटका तौल उल्लेख नगरेको र केही वस्तुमा अस्वाभाविक मुनाफा राखेर बिक्री गरेको पाइएको थियो।
सहायक प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीले अनुगमनका क्रममा दैनिक उपभोग्य वस्तु चिनीमा पनि कालोबजारी गरेको पाइएको बताए। ‘कालोबजारीसम्बन्धी ऐनले खरिद मूल्यको २० प्रतिशत भन्दा बढी नाफा लिएर वस्तु बिक्री गरेको पाइए कालोबजारी गरेको ठहर्ने व्यवस्था गरेको छ’, उनले भने। भाटभेटेनीले चिनीमा २५ प्रतिशत नाफा राखेर बिक्री गरिरहेको अनुगमनका क्रममा पाइएको उनले बताए।
भाटभटेनीले ७१ रुपैयाँ ५० पैसामा खरिद गरेको चिनी ८९ रुपैयाँमा बिक्री गरेर उपभोक्तालाई ठगी गरेको पाइएको हो। त्यस्तै बोतलको पानी २६ रुपैयाँमा खरिद गरेर ४५ रुपैयाँमा बिक्री गरेको केशरीले बताए।
अनुगमनका क्रममा ग्राहक अफरका नाममा टुटफुट भएका बिस्कुट बिक्रीका लागि राखिएको पाइएको थियो।
त्यसैगरि भाटभटेनीले तरकारी र फलफूलमासमेत उपभोक्तालाई ठगी गरेको पाइएको छ। तरकारीका प्याकेटमा मूल्य राखे पनि तौल नराखेको पाइएको छ।
अनुगमनका क्रममा खरिद बिलबिजक नपाइएको, उपभोग्य मिति नाघेका वस्तु र उपभोग्य वस्तु एउटै स्थानमा भण्डारण गरेको, बिस्कुटका प्याकेटमा अंकित मूल्यभन्दा दोब्बर बढीमा बिक्री गरेको पाइएको छ।
त्यसैगरि भाटभटेनीको प्रांगणमा रहेको केएफसी चिकेन र पिजा हटमा अनुगमन गर्दा स्थानीय नगरपालिकामा व्यवसाय दर्ता नगरेको पाइएको छ।
अनुगमनमा सहायक प्रमुख जिल्ला अधिकारी केशरी नेतृत्वमा वाणिज्य, साना तथा घरेलु उद्योग कार्यालय, खाद्य गुणस्तर विभाग, प्रहरी, उपभोक्ता महासंघ, मध्यपुर थिमि नगरपालिका, नेपाल पत्रकार महासंघ भक्तपुरका प्रतिनिधिहरुको सहभागिता रहेको थियो।
Comments are closed.