Nepal's First Video FM

एमालेलाई बहुमतमा पुर्याएर कसैले हल्लाउन नसक्ने सुदृढ स्थितिमा पुर्याएर छोड्छु : केपी ओली

152

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि नेता तथा कार्यकर्ताहरुले देखाएको विश्वासलाई एक थोप्लोपनि तलमाथि हुन नदिने र एमालेलाई फेरि एकल बहुमत दिलाएमात्रै नेतृत्व छाड्ने बताएका छन् ।

पार्टीको प्रथम विधान महाधिवेशनको समापन समारोहमा उठेका विषयको जवाफ दिने क्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले भने,‘बहुमतमा पुर्‍याएर यस्तो उस्तो कुनै मधुकैटवले हल्लाउन नसक्ने सुदृढ स्थितिमा पुर्‍याएर छोड्ने हो ।’ उनले जनताको बहुदलीय जनवादको दुरबिनले आफूहरुले टाढाको भविष्य सजिलै हेर्न सक्ने पनि बताए ।

उनले भने,‘मलाई तपाईँहरुले गरेको विश्वासमा एक थोप्लोपनि तलमाथि पर्नेछैन् । देशको हितको विरुद्ध, जनताको हितको विरुद्ध, प्रगतिको विरुद्ध, पार्टीको हितको विरुद्ध एउटा पनि कदम म बाट चालिनेछैन् । म व्यक्तिको रुपमा होईन, अहिले नेकपा एमालेको अध्यक्षको रुपमा भन्दैछु । नेकपा एमालेलाई मलाई लाग्छ, बहुमतमा पुर्याएर हल्लाउन नसक्ने सुदृढ स्थितिमा पुर्याएर छोड्छु ।’

त्यस्तै, उनले एमाले जनताको लागि काम गर्ने पार्टी भएको बताएका छन् । उनले भने,‘एमाले परिवर्तनको लागि हो । यो कामकाजी पार्टी हो । देश र जनताको सेवक पार्टी हो । सेवककै हिसाबले जनताको सेवा गर्छौं । मैले सरकार गठन भएको एक महिना हुँदानै सम्बोधन गरेर यी यी काम गरें भनेर देखाएका थिएँ । तर, अहिलेको सरकारले केही काम गरेको छैन् । अढाई महिनामा सरकार पनि पूर्णता भएको छैन् ।

हामी सरकारबाट बाहिरियौं, भूमिहीनका सपना बाहिरिए । बैशाखसम्म मेलम्ची ल्याउँछौं भनेर अहिलेको सरकारले भनेको छ, तर पन्ध्र महिनापछि एमालेको सरकार आउँछ अनि यो बन्छ । ठीक छ, यो सरकारले बैशाखभित्र आँफैले भनेको कुरा गरेर देखाओस ।’

उनले महाधिवेशन प्रतिनिधिहरुले दिएका सुझाव मनन गरिने विश्वास दिलाए । उनले मंसिरमा तय गरिएको १०औं राष्ट्रिय महाधिवेशन सफलतापूर्वक सम्पन्न गरिने पनि बताए । उनले जिल्ला अधिवेशन पनि अब विलम्ब नगरी सबै अधिवेशन गरेर संगठनात्मक रुपमा चुस्त दुरुस्त भएर अघि बढ्ने बताए ।

You might also like

Comments are closed.