चैत ७, नेपाल निजामती कर्मचारी युनियन (संघ)का अध्यक्षमा गोपालप्रसाद पोखरेल निर्वाचित भएका छन् । रत्ननगरमा भएको ७औँ महाधिवेशनमा राजेन्द्र बुढाथोकीलाई पराजित गर्दै पोखरेल विजयी भएका हुन् ।
गएराति ३ बजे सकिएको महाधिवेशनमा उनले बुढाथोकीभन्दा ३० मत बढी ल्याए । कूल ५ सय ४५ खसेको मतमा पोखरेलले २ सय ८४ र बुढाथोकीको २ सय ५४ मत आएको थियो ।
अधिवेशनले वरिष्ठ उपाध्यक्षमा ३ सय ६२ मतका साथमा सुरेन्द्र अधिकारीलाई निर्वाचित गरेको छ । प्रतिद्वन्द्वी सुशीलकुमार केसीले १ सय ७० मत प्राप्त गरे । अर्का उपाध्यक्षमा कृष्ण दाहाललाई हराउँदै उत्तमकुमार कटवाल निर्वाचित भएका छन् ।
महासचिवमा सुवास कोइराला निर्विरोध भएको प्रमुख निर्वाचन अधिकृत यदुनाथ खनालले जानकारी दिए । उनका अनुसार बुधबार सबैलाई शपथ खुवाउने कार्यक्रम राखिएको छ । गए राति सकिएको महाधिवेशनले २६ पदाधिकारीसहित ८० जना निर्वाचित गरेको छ ।
पाँच जना भने पछि मनोनयन हुने व्यवस्था रहेको खनालले जानकारी दिए । तीन वर्षीय कार्यकालका लागि सचिवमात्रै सात जना निर्वाचित भएका छन् । यही चैत ४ गतेदेखि यहाँ चलेको महाधिवेशनमा देशभरका ५ सय ६९ प्रतिनिधिमध्ये ५ सय ४५ जना सहभागी थिए । रासस
Comments are closed.