चैत ७, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश नं. ३ को राजधानी हेटौंडा नै स्थायी हुने बताएका छन् ।
प्रेस सेन्टर मकवानपुरले बुधबार हेटौँडामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले प्रदेशको १३ जिल्लामध्ये राजधानीका लागि हेटौंडा नै सबैभन्दा उपयुक्त स्थान रहेकाले बाहिर प्रचारमा आए जस्तो यहाँबाट प्रदेशको राजधानी नसर्ने बताए ।
अध्यक्ष दाहालले प्रदेशको राजधानीका सबै कामहरु शुरु भइसकेकाले हेटौँडाबाट राजधानी सार्ने हल्लापछि नलाग्न सबैमा आग्रह गर्दै प्रदेशको नामको सन्दर्भमा प्रदेशसभाले निर्णय गर्ने विषय रहेको बताए ।
‘यो वर्ष निर्वाचन वर्ष’ रहेको र अब आर्थिक समृद्धिको समय रहेकाले यसका लागि राष्ट्रिय सहमति आवश्यक रहेको छ, उनले भने–“सरकारले परिणाममुखी काम गर्नका लागि मुख्य र राष्ट्रिय विषयमा प्रतिपक्षसँग पनि समझदारीको वातावरण बनाएको छ ।”
अध्यक्ष दाहालले अहिलेको मुख्य चुनौती भनेको सुशासन, स्थायित्व र विकासलाई गति दिनु नै हो भन्दै प्रदेशको कामलाई तीव्रता दिन ऐन बनाउने कामको गति बढिरहेको बताए ।
अध्यक्ष दाहालले सरकारमा दुई तिहाईको बहुमत पुगिसकेको अवस्था रहेपनि समग्र विकासको गति बढाउन र राजनीतिक स्थायित्वका लागि मधेसकेन्द्रित दलकोसमेत समर्थन पाइसकेको जानकारी दिए ।
नेकपा (एमाले) र माओवादी केन्द्रको एकता अबको केही दिनमा नै हुने बताउँदै उनले एकता प्रक्रिया पूरा गर्नका लागि बनेको कार्यदलले आफ्नो काम पूरा गरी प्रतिवेदन बुझाउने तयारीमा रहेको छ भने । रासस
Comments are closed.