Nepal's First Video FM

सरकार अनावश्यक लकडाउन गर्ने पक्षमा छैन : स्वास्थ्यमन्त्री खतिवडा

7

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले सरकार अनावश्यक लकडाउन गर्ने पक्षमा नरहेको बताउनुभएको छ ।

आज बिहीवार कीर्तिपुर अस्पतालमा आयोजित कार्यक्रमपछि बोल्दै मन्त्री खतिवडाले यसअघि अन्य देशहरूको कुरा सुनेर लकडाउन गरे पनि अब आवश्यक ठाउँ हेरेर मात्रै लकडाउन गरिने बताउनुभएको हो । उहाँले यसअघिका लकडाउनले देशको आर्थिक, सामाजिक र शैक्षिक क्षेत्रमा धेरै असर गरेको भन्दै अब लकडाउन नै समाधान हो भन्ने किसिमबाट सरकार नजाने बताउनुभयो ।

मन्त्री खतिवडाले सरकारले स्वास्थ्य क्षेत्रमा विशेष तयारीका साथ काम गरिरहेकाले लकडाउन हुन्छ भनेर आत्तिनुनपर्ने बताउनुभयो । मन्त्री खतिवडाले भन्नुभयो, ‘सुरुका बेलामा आतङ्क बढी भएको हुनाले एक, दुई वटा सामान्य लक्षण देख्दा पनि यसको उपचार लकडाउन हाे भनेर गर्‍याैँ । जति जानेको थियो, त्यति गर्‍याैँ । त्यसले केही मृत्यु दर घटायो होला भन्ने अनुमान गर्न सकिन्छ । तर त्यसले परेको शैक्षिक क्षेत्रको असर, औद्योगिक, राजस्व, सामाजिक क्षेत्रका अनेक कामलाई पुगेको क्षति, नदेखिने यो क्षति मृत्युभन्दा पनि भयावह ढङ्गले भयो । त्यसैले अब हामी आत्तिएर, मात्तिएर लकडाउन नै समाधान हो भन्ने पक्षमा छैनौँ । आवश्यक्ता हेरेर खास ठाउँमा विचार पुर्‍याएर हामी लकडाउन गर्नेछौँ । सजिलैसँग लकडाउनमा जाँदैनौँ ।’

मन्त्री खतिवडाले कोरोनाको नयाँ भेरियन्टबाट बच्न होसियार रहनुपर्ने भन्दै मास्क र स्यानिटाइजर अनिवार्य प्रयोग गर्न आग्रह गर्नुभयो ।

You might also like

Comments are closed.