काठमाडौँ, १५ माघ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का शीर्ष नेतासहित कार्यदलको संयुक्त बैठकमा आसन्न राष्ट्रियसभाको निर्वाचनमा आफ्ना उम्मेदवार विजयी गराउने विषयमा छलफल भएको छ ।
एमाले संसदीय दलको कार्यालय, सिंहदरबारमा सोमबार बिहान भएको बैठकले अन्य साना दलसँगको सहकार्यको सम्भावना बारे लाग्न र दुवैका मतदातालाई आफ्ना उम्मेदवार विजयी गराउन निर्देशन दिएको छ ।
एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जित सुनिश्चित नहुने भएमा प्रदेश नं ३ का आफ्ना उम्मेदवार वेदुराम भुसाललाई फिर्ता गराइने विषयमा पनि गृहकार्य भएको जानकारी दिए । निर्वाचनमा एमालेले २९ र केन्द्रले १४ उम्मेदवार दिने पूर्व सहमति छ ।
यही माघ २४ गतेका लागि तय भएको राष्ट्रियसभाको निर्वाचन अन्तर्गत सोमबार उम्मेदवारी फिर्ता लिने अन्तिम दिन हो । एमालेका अध्यक्ष केपी शर्मा ओली र केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित कार्यदलमा रहेका नेताहरु बैठकमा सहभागी थिए ।
अध्यक्ष ओली र दाहालको आपसी छलफलपछि आइतबारको कार्यदलको बैठकले प्रदेशका मुख्यमन्त्री, सभामुख र उपसभामुखको बाँडफाँडबारे सहमति गरेको थियो ।
Comments are closed.