चैत ११, पाँचथरको हिलिहाङ गाउँपालिका–७, भारपामा आइतबार बिहान मिनि ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रकका सह–चालक महोत्तरीका ४० वर्षीय रमेश सिंहको घटनास्थलमै ज्यान गएको पाँचथर प्रहरीले जनाएको छ ।
दुर्घटनामा महोतरी बर्दिबास–४,का २४ वर्षीय ट्रक चालक शम्भु महरा गम्भीर घाइते भएका छन् । उनको पाँचथर अस्पतालमा उपचार भइरहेको छ । बिहान १० बजे बा २ ख ६६८३ नम्बरको ट्रक दुर्घटना भएको थियो ।
उक्त क्षेत्रमा निर्माण भइरहेको जलविद्युत परियोजना अन्तर्गत रेणु कन्ट्रक्सनको ढुवानी सेवाको काम गर्दै आएको ट्रक बिजुलीको पोल ओसार्दै गर्दा सडकबाट पाँच सय मिटर तल झरेको प्रहरी प्रवक्ता विज्ञान बस्नेतले बताए ।
शुक्रबार मात्र जिल्लाको छुटाछुट्टै स्थानमा भएको दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन् । केही दिन अघि मात्र फालेलुङ र फाल्गुनन्द गाउँपालिकामा भएको सवारी दुर्घटनाबाट दुई जनाको ज्यान गएको थियो भने दुई जना गम्भीर घाइते भएका थिए ।
दुर्घटनाको मुख्य कारण साँघुरो बाटो र चालकको लापरवाहीले बढी सवारी दुर्घटना बढ्दै गएको प्रहरी प्रवक्ता बस्नेतले बताए ।
Comments are closed.