चैत ११, पाकिस्तानको एउटा स्थानीय टेलिभिजन च्यानल कोहे-नूरले एकजना तेस्रो लिङ्गी समाचारवाचिका मारवीय मलिकलाई स्थान दिएको छ ।
कोहे-नूर टेलिभिजनको उक्त कदमको सामाजिक सञ्जालमा त्यहाँ निकै प्रशंसा भइरहेको छ । पाकिस्तानको पछिल्लो जनगणना अनुसार तेस्रो लिङ्गीहरूको संख्या १० हजार ४ सय १८ छ ।
पहिलो तेस्रो लिङ्गी समाचारवाचिका बनेकी मलिकले यसअघि ‘मोड्लिङ’ गरिसकेकी छन् । मलिकले भनिन्, ‘कोहे-नूर न्यूज पुनः आउन लागेको चर्चा सुनेर मैले पनि समाचारवाचिकाका लागि आवेदन दिएँ । अन्तर्वार्तामा धेरै महिला तथा पुरूष सहभागी थिए ।’
‘मेरो पालो आएपछि कर्मचारीले मलाई कुर्न भने । पछि मलाई भित्र बोलाइयो र तपाईँलाई हामी प्रशिक्षण दिन्छौँ, कोहे-नूर न्यूजमा स्वागत छ भने । यति सुनेर खुशीले मेरा आँखाहरू रसाए ।’
उनले थपिन्, ‘मैले देखेको सपनाको पहिलो खुड्किलोमा टेकेकोले मेरा आँखाहरू रसाएका हुन् । प्रशिक्षणका क्रममा मलाई कुनै कठिनाइ भएन । अरूलाई जस्तै मलाई पनि उनीहरूले सिकाए । मैले कुनै प्रकारको भेदभाव महसुस गरिनँ ।’
समाचारवाचिकाको प्रशिक्षणपछि हालै मलिक लहोरमा र्याम्पमा उत्रिएकी थिइन् । उनले आफू पाकिस्तानकी पहिलो तेस्रो लिङ्गी मोडल पनि भएको बताइन् । मलिकले लहोर ‘फेशन शो’ मा ठूला मोडलहरूसँग सहभागी भएको बताइन् ।
उनले भनिन्, म आफ्नो समुदायका लागि केही गर्न चाहन्छु ताकि उनीहरूको अवस्था राम्रो हुन सकोस् । मलिकले थपिन्, ‘मैले समाचारवाचिकाको जागिर पाएँ । तर मेरो र सडकमा माग्ने एवं नृत्य गर्ने तेस्रो लिङ्गीहरूको कथा उस्तै छ । र, त्यसलाई बदल्न जरूरी छ ।’
बीबीसीबाट साभार
Comments are closed.