Nepal's First Video FM

वर्षेनी कुष्ठरोगका बिरामी बढ्दै, यो वर्ष ९ जनामा

553

१५ माघ, बागलुङ जिल्लामा कुष्ठरोगी पत्ता लाग्ने क्रम बढ्दो छ । ३ वर्षअघि ३ कुष्ठरोगी भेटिएकामा अघिल्लो वर्ष ५ र , यो वर्ष ९ कुष्टारोगीले उपचार गर्न आएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लाको साविक गाविस बिनामारे, हुग्दीशिर, हटिया, पाला, हरिचौर, खुङ्खानी, जैदी, बिहुँ र बागलुङ नगरपालिकमा एक/एक गरी नौ कुष्ठरोगी अहिले उपचारमा छन् । “उपचारमा पहुँच र सचेतनाका कारण कुष्ठरोगी भेटिने क्रम बढ्दो छ” प्रशासक तिवारीले भन्नुभयो, “समयमै उपचार गर्नसके यो रोग पूर्णरुपमा निको हुन्छ ।”

कुष्ठरोगका बिरामीलाई छिटो उपचार गर्नु नै रोग नियन्त्रणको उत्तम विकल्प हो । अन्धविश्वास र बिरामीमाथि गरिने हेला र भेदभावका कारण कतिपयले रोग लुकाएर बस्ने गरेको उहाँको भनाइ छ ।

कुष्ठरोग समस्याका रुपमा नरहे पनि समाजमा यसको संक्रमण रहिरहने धौलागिरि अञ्चल अस्पतालका प्रमुख चिकित्सक सागर राजभण्डारीले बताउनुभयो । जुनसुकै उमेर, वर्ग र समुदायका व्यक्तिलाई कुष्ठरोग लाग्ने हुँदा लक्षण देखिनासाथ जाँच गराउनुपर्ने उहाँको सुझाव छ ।

नचिलाउने रातो तथा फुस्रो दाग देखा परेमा, हातखुट्टा झमझाउने वा चेतनाशक्ति कम हुँदै जानेजस्ता लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा गई परीक्षण गराउनुपर्ने स्वास्थ्यकर्मीको सुझाव छ ।

सरकारी आँकडाअनुसार अहिले नेपालमा दुई हजार ६ सय २६ कुष्ठरोगीका बिरामी छन् । हालसम्म एक लाख ८० हजार बिरामी उपचारपछि निको भएका छन् भने ३० हजार जनाको कुष्ठरोगकै कारण अंगभंग भएको छ ।

You might also like

Comments are closed.