Nepal's First Video FM

गणेश लामा छुटाउन गच्छदारको दबाब !पढ्नुहोस् किन ?

585

चैत्र १३, सोमबार दिउँसो बा १० च ९४९६ नम्बरको गाडीमा कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदार प्रहरी हिरासतमा रहेका गुन्डा नाइके गणेश लामालाई भेट्न प्रहरी परिसर काठमाडौं पुगे ।

संसद्को बैठक सकिएलगत्तै उनी गुन्डा नाइके गणेश लामालाई भेट्न पुगेका थिए । नेपाल लोकतान्त्रिक फोरमबाट कांग्रेसमा प्रवेश गरेका लामालाई अघिल्लो साता प्रहरीले पेस्तोलसहित पक्राउ गरेको थियो ।

प्रहरी हिरासतमा रहेका लामालाई भेट्न पुगेका गच्छदार एसपी रामदत्त जोशीको कोठामा पुगे । हिरासतमा रहेका लामालाई गच्छदारले भेट्न खोजेपछि लामालाई पनि बिदामा रहेका एसपी जोशीकै कोठामा ल्याइएको थियो ।

गच्छदारलाई देख्नासाथ लामाले ‘मेरो हतियार होइन, मलाई फसाउन खोजिँदैछ । मलाई हान्न खोज्नेको हतियार मैले खोसेको हो ।’ लामाले यसो बताइरहँदा गच्छदारले ‘आफूलाई सबै जानकारी भएको’ धारणा राखेका थिए ।

करिब ७ मिनेटको भेटमा गच्छदारले लामाप्रति सहानभूति राख्दै भावुक पनि भए । पूर्वमन्त्री गच्छदार त्यसपछि एसएसपी विश्वराज पोखरेलको कक्ष प्रवेश गरे ।
“तपाईँको कामको चर्चा व्यापक सुन्दैछु,” गच्छदारले एसएसपी पोखरेलको कामको प्रशंसा गर्दै भने ।

सुरुमा उनले नेपाल प्रहरीको २५ औं आइजीपी प्रकरणको चर्चा झिके । नवराज सिलवाल र जयबहादुर चन्दको विवादबारे पनि कुराकानीका क्रममा गच्छदारले केही कुुरा उप्काए पनि ।

उनले आफु नवराज सिलवालको पक्षमा पहिलेदेखि नै रहेको बताए । एसएसपी पोखरेलले उनको कुरा सुनिरहे कुनै धारणा राखेनन् । पछिल्लो समयमा काठमाडौंको सुरक्षामा राम्रो भूमिका खेलेको भन्दै उनले पोखरेलको प्रशंसा गरिरहे ।

“तपाईँ पनि भविष्यको आइजी हो नि,” एसएसपी पोखरेललाई हौस्याए । त्यसपछि उनले गणेश लामाको प्रसंग निकाले । गणेश लामा सुध्रिएको भन्दै उनले लामा असल नागरिक भएको बताए । सुध्रिएको व्यक्तिलाई हिरासतमा राख्न नहुने उनको संकेत थियो ।

लामासँगको आफ्नो लामो सम्बन्धको चर्चा गर्दै लामालाई फसाइएको संकेत उनले गरे । लामाको मुद्दालाई निश्पक्ष रुपमा छानविन गर्न उनले आग्रह गरे । लामालाई एमाले–माओवादीले आफ्नो पार्टीमा प्रवेश गराउन खोज्दा आफुले रोकेकाले आफु लामाको अभिभावकजस्तै रहेको पटक–पटक गच्छदारले बताइरहेका थिए । बीचबीचमा प्रहरीको प्रसंग निकाल्दै उनी लामै कुरालाई अघि सार्थे ।

एसएसपीको कोठाबाट निस्कदै गर्दा गच्छदारले भने, “भनिन्छ नि एसपी सा’ब सयजना अपराधी छुटुन् तर एकजना निर्दोष चाँही नपरोस् ।” प्रहरी परिसर पुगेर गच्छदारले घुमाउरो पारामा लामालाई छाड्न दबाब दिएका थिए ।

लामामाथि १० दिनको म्याद थप

यता सोमबार नै फागुन २९ गते राति काठमाडौंको पिंगलास्थान गौशालाबाट हतियारसहित पक्राउ परेका लामामाथी अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालयले थप १० दिनको समय प्रदान गरेको छ ।

यसअघि पनि लामामाथि १० दिनको म्याद राखि अनुसन्धान भएको थियो । प्रहरीले लामासँग ‘टाइप ५४’ लेखिएको चाइनिज पेस्तोल र ६ राउन्ड गोली र एउटा खोका पनि घटनास्थलबाट बरामद गरेको थियो ।

यद्यपी लामाले आफुमाथी गोली प्रहार गर्नेलाई नचिनेको र आफुले पेस्तोल खोसेको उनले प्रहरीसमक्ष बयान दिएका छन् । हतियार आफ्नो नभएको लामाले बताउँदै आएका छन् । तर प्रहरीले घटनास्थलको सीसीटिभी फुटेजलाई प्रमाणको रुपमा राखेको स्रोत बताउँछ । baahrakhari

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.