संविधान बनेपछि सामाजिक विकृतिको अन्त्य भयो – निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित सम्पन्न गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री देउवा
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको अबको गन्तव्य मुलुकको द्रुत र आर्थिक रुपान्तरण रहेको बताएका छन् । सोमवार सैनिक मञ्च टुँडिखेलमा ८ औं संविधान दिवस एवं राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसद तिमिल्सिना, कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनार्दन शर्मा लगायतको उपस्थिति थियो ।
प्रधानमन्त्री देउवाले अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले सक्दो प्रयास गरिरहेको पनि बताए । उनले सबैको समन्वयात्मक प्रयासबाट कोभिड १९ र डेंगुलाई नियन्त्रण गरी मुलुकलाई सामान्य अवस्थामा फर्काउन सफल हुने विश्वास व्यक्त गरे ।
प्रधानमन्त्री देउवाले आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनले मुलुकमा लोकतान्त्रिक विधि र माध्यमले शान्तिपूर्ण रुपमा शक्तिको हस्तान्तरणलाई सुनिश्चित गर्ने र संविधानलाई चलायमान बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
निर्वाचन गराउने कार्यमा सरकारलाई सबैको सहयोग मिल्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री देउवाले सम्पूर्ण नेपाली जनताको समृद्धि, सम्पन्नता र आत्मसम्मान अभिवृद्धि नै आफूहरुको एकमात्र अभिष्ट भएको स्पष्ट पारे ।
Comments are closed.