काठमाडाैं । नेपाल बैंक नेपालको सबैभन्दा पुरानो बैंक मात्रै होइन नेपाली बैंकिङ अभ्यासलाई यो अवस्थासम्म पुर्याउनका लागि ठूलो योगदान गरेको एक धरोहर पनि हो ।
सोही नेपाल बैंक बुधबार आफ्नो ८६ औं वार्षिकोत्सब मनाउँदैछ । ८५ वर्ष पार गरेर ८६ वर्षमा पाइला टेकेको नेपाल बैंकले यो ८५ वर्षको अवधिमा विविध आरोह अवरोह तथा उतारचढावहरु पनि सामना गरेको छ ।
नेपालको बैंकिङ क्षेत्रमा अहिले जुन क्रान्ति भएको छ, यसको जग बसाल्ने काम ‘नेपाल बैंक लिमिटेड’ को स्थापनाबाट भएको हो किनकि नेपाल बैंक नेपालको पहिलो बैंक हो जसको स्थापना १९९४ साल कार्तिक ३० गते भएको हो।
नेपाल बैंक कानुन १९३७ अनुसार स्थापना भएको यस बैंकको उद्घाटन राजा त्रिभुवनले गरेका हुन्। त्यतिबेला पनि सार्वजनिक निजी साझेदारी (पिपिपी) मोडलमा सुरु भएको यस बैंकमा १० जना लगानीकर्ता थिए। ८ लाख ४२ लाख हजार चुक्ता पुँजीबाट सुरु भएको बैंकको निक्षेप १७ लाख थियो भने लगानी १९ लाख थियो।
नेपालमा बैकिङ प्रणालीको सुरुवात र विकासकर्ताका हिसाबले पनि नेपाल बैंकको भूमिका अतुलनीय रहेको छ। यसको आफ्नै लामो गौरवमय इतिहास छ। नेपालमा औपचारिक बैकिङ सेवाको सुरुवात मात्र नभई स्वदेशी मुद्रा प्रचलनमा सहजता ल्याउने श्रेय पनि नेपाल बैंक लिमिटेडलाई जान्छ।
भारतीय रुपैयाँको दबदबा रहेको समयमा आफ्नै देशको मुद्रा प्रचलनमा ल्याउन नेपाल बैंक लिमिटेडले खेलेको भूमिका इतिहासका स्वर्णिम पानाहरुमा सदा लेखिइरहने नै छ। त्यसैगरी वि.स. १९९४ देखि २०१३ सालसम्म देशको केन्दी्रय बैंकको भूमिकासमेत निर्वाह गरेको नेपाल बैंक लिमिटेड नेपालको वित्तीय क्षेत्रमा एउटा छुट्टै अनुभव बोकेको गौरवशाली बैंक हो।
Comments are closed.