चैत १५, सूचना तथा सञ्चार मन्त्रालयले बुधबारदेखि काठमाडौं उपत्यकामा एनालग टीभी बन्द गराएको छ ।
मन्त्रालयले बुधबार एनालग प्रविधिबाट आधारित भएर सेवा प्रदान गर्दै आएका टेलिभिजन प्रदायक कम्पनीमा अनुगमन गरी सेवा बन्द गराएको हो । अब काठमाडौं उपत्यकामा एनालगमा आधारित सम्पूर्ण सेवा बन्द भएको छ।
मन्त्रालयबाट केबल टेलिभिजन शाखाका प्रमुख विष्णुकुमारी भट्टराई र फ्रिक्वेन्सी विभागका प्रमुख अनुप नेपाल, मन्त्रालयका उपसचिव युवराज खतिवडाको टोली अनुगमनमा निस्केको थियो । टोलीले काठमाडौं उपत्यकाभित्रका १० वटा कम्पनीमा पुगेर एनालगबाट चल्दै आएका सम्पूर्ण सेवा बन्द गराएको हो ।
सञ्चार मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालका अनुसार टोलीले बुधबार सुबिसु केबल नेटवर्क प्रालि, सोनिङ केबल टीभी, काठमाडौं केबल, जावलाखेल केबल नेटवर्क प्रालि र स्काई केबललगायत १० टेलिभिजन सेवा प्रदायक कम्पनीको अनुगमन गरेको हो ।
सञ्चार मन्त्रालयले गत वैशाख १५ पछि काठमाडौं लगायत विभिन्न महानगरमा केबल टेलिभिजनलाई डिजिटलाइजेसनमा जान निर्देशन दिएको थियो ।
नगरपालिकाका लागि गत कात्तिक १५ सम्मको समयसीमा तोकिएको थियो । आगामी वैशाख १५ बाट देशभरका एनालग टेलिभिजन बन्द हुने मन्त्रालयले जनाएको छ ।
Comments are closed, but trackbacks and pingbacks are open.