चैत १५, मदिरा सेवन गरेर कार्यालय जाने गरेका मेचीनगर नगरपालिका–२ का वडाध्यक्ष तिलक न्यौपाने बुधबार दिउँसो पक्राउ परेका छन् ।
स्थानीय सेवाग्राहीले दिएको खबर लगत्तै इलाका प्रहरी कार्यालय, काँकरभिट्टाका डीएसपी टङ्कप्रसाद भट्टराई नेतृत्वको प्रहरी टोली घटनास्थल पुगेको थियो । र, उनलाई वडा कार्यालयबाटै पक्राउ गरेर इलाका प्रहरी कार्यालय काँकरभिट्टा लगेको थियो ।
प्रहरीले मेची आम्दा हस्पिटल धुलावारीमा वडाध्यक्ष न्यौपानेको मापसे जाँच गर्दा उनले मदिरा सेवन गरेको पुष्टि भएको थियो । बुधवार जिल्ला समन्वय समितिकी सदस्य गङ्गा कार्की समेत काम विशेषले वडा कार्यालय आएकी थिइन् ।
उनीसहित वडा कार्यालय पुगेका स्थानीय व्यक्ति र वडा सदस्यहरुलाई वडाध्यक्ष न्यौपानेले मातेको सुरमा तथानाम बोलेका थिए । नमातेको बेला शालीन र सरल लाग्ने वडाध्यक्ष न्यौपानेले मदिरा पिएर लठ्ठ भएपछि जसलाई भेट्यो उसलाई तथानाम गालीगलौज गर्दै आएको स्थानीयवासी बताउँछन् ।
नियन्त्रणमा लिन आएको प्रहरी टोलीलाई समेत उनले आफू जनप्रतिनिधि भएको भन्दै धम्काउने प्रयास गरेका थिए । नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष न्यौपानेलाई आचरण सुधार्न पार्टीले समेत पटकपटक मौका दिँदै आएको थियो ।
‘पहिल्यैदेखि मदिरा खाएर छवि बिगारेका उनलाई टिकट दिनु हुँदैन भन्ने कुरा चुनाव अघि उठेको थियो’, एक एमाले कार्यकर्ता भन्छन्, ‘अहिले चुनाव जितेपछि पार्टीले सुधार्न अनेक प्रयास गर्यो, तर सकेन ।’
वडाध्यक्ष न्यौपानेले वडा कार्यालयका कर्मचारी र सेवाग्राहीहरुलाई समेत मातेको सुरमा दुर्व्यवहार गरेर लज्जित तुल्याउँदै आएका छन् ।बुधवार स्थानीयको गुनासोपछि वडा कार्यालय पुग्दा वडाध्यक्ष न्यौपाने कार्यालयको कुर्सीमा बेसुर अवस्थामा घुरिरहेका थिए ।
नियन्त्रणमा लिन आएको प्रहरी टोलीलाई समेत उनले आफू जनप्रतिनिधि भएको भन्दै धम्काउने प्रयास गरेका थिए । इलाका प्रहरी कार्यालय, काँकरभिट्टाले वडाध्यक्ष पक्राउ गरिएको बारेमा नगरपालिकाका नगरप्रमुख विमल आचार्यलाई जानकारी गराएको थियो ।
इप्रकाले साँझ वडाध्यक्ष न्यौपानेलाई छाडिदिएको छ । अर्का वडाध्यक्ष ललित तामाङ, एमाले नेता देबकुमार राई र राम ओलीको रोहवरमा प्रहरीले न्यौपानेलाई उप्रान्त मदिरा सेवन नगर्ने शर्तमा छाडिएको छ ।
साभार अनलाइन खबर
Comments are closed.