Nepal's First Video FM

सार्वजनिक बिदा कटौतीबारे विरोध शुरु, जनजाति महासंघले निकाल्यो यस्तो विज्ञप्ति !

532

चैत १५, आफूहरुसँग बिनाछलफल गरी सार्वजनिक बिदा कटौती गरिएको भन्दै नेपाल आदिवासी जनजाति महासंघले निर्णय अविलम्ब फिर्ता लिन सरकारसँग माग गरेको छ ।

महांघका अध्यक्ष जगतबहादुर बरामले बिहीबार विज्ञप्ति निकालेर सरकारले एकलौटी ढंगबाट बिदा कटौती गरेकोमा विरोध जनाउँदै निर्णय फिर्ता लिन आग्रह गरेका छन् ।

‘जनजाति सम्बद्ध समुदायहरुलाई कुनै प्रकारको छलफल, परामर्श नलिई बिदा कटौतीले महेन्द्रकालीन पञ्चायती व्यवस्थाको पुनरावृत्ति भएको र यसले असमानताको स्थिति सिर्जना गराई थप द्वन्द्वलाई मलजल पुग्नेछ, जुन समृद्धिको बाधक पनि हो’ विज्ञप्तिमा भनिएको छ ।

सोही माग राखी जातीय संघसंस्थाहरुले बिहीबार गृहमन्त्री रामबहादुर थापालाई ज्ञापन पत्र समेत बुझाएका छन् । ज्ञापन पत्र बुझ्दै गृहमन्त्री रामबहादुर थापाले देश विकासकै लागि काम गर्नुपर्ने समय आएकोले भन्दै अनावश्यक बिदा कटौती गर्नुपरेको प्रस्ट्याएका थिए ।

यसअघि आदिवासी जनजाति समुदायका प्रमुख चाडपर्वहरुमा दिइँदै आएको सार्वजानिक बिदालाई अबदेखि सम्बन्धित जाति, समुदाय वा भेगविशेषलाई मात्र दिने बुधबार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको थियो ।

बिदा कटौतीको निर्णय फिर्ताका लागि जनजाति महासंघसहित नेपाल मगर संघ, नेपाल तामाङ घेदुङ, नेवा: देय् दबू, तमू ह्युल छोज ध्रिं (गुरुङ राष्ट्रिय परिषद्), किरात याक्थुङ चुम्लुङ थारु कल्याणकारिणी सभा लगायत जातीय संस्थाका प्रमुखहरुले समेत ऐक्यबद्धता जनाएका छन् ।

साभार कान्तिपुर दैनिक

You might also like

Comments are closed.