चैत्र १५, मुआब्जा र पुनर्वासका लागि बुढीगण्डकी जलबिद्युत आयोजनाले सरकारसँग २५ अर्व रकम माग गरेको छ ।
ऊर्जा मन्त्रालय मार्फत अर्थ मन्त्रालयसँग रकम माग गरिएको गोरखाको घ्याल्चोक सिउरेनटारस्थित आयोजनाको वातावरण मुआब्जा वितरण, पुनर्वास तथा पुनर्स्थापना इकाइका संयोजक कृष्ण कार्कीले बताए । ‘विस्थापितहरुको पुनर्वासका लागि जग्गा अधिग्रहण र मुआब्जा वितरण गर्न एक हप्ता अघि रकम माग गरेर पठाएका छौ,’ उनले भने । तर रकम आउने नआउनेमा भने अन्योल रहेको उनको भनाइ छ ।
ड्याम निर्माणका लागी पहिलो चरणमा गोरखा घ्याल्चोकका २२ र धादिङ सलाङका ७८ घरधुरीलार्इ पुनर्स्थापना गर्ने तयारी भइरहेको कार्कीले बताए । ‘वातावरणीय प्रभाव मूल्याङकन (र्इआर्इर्इ)ले बिस्थापित गर्नुपर्ने ४४ ठाउँ देखाएको छ, तर पहिलो चरणमा घ्याल्चोक र सलाङवासीको पुनर्वास गर्छाै बाँकी क्रमश गर्दै जानेछौ,’ उनले भने ।
गोरखाको दर्वुङ र धादिङको नलाङमा उनीहरुलाइ पुनर्वास गर्न लागिएको उनको भनाइ छ । ‘जग्गा पनि हेरिसकेका छौ, वातावरणीय प्रभाव मूल्याङकन पनि भइसक्यो, अब जग्गा अधिग्रहण गरेर पुनर्स्थापनातर्फ लाग्छौ,’ उनले भने ।
पुनर्वासका लागि मात्रै करिब २० हजार रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने उनले बताए ।
रकम अभाव नभए एक वर्षभित्र मुआब्जा वितरणको काम सकिने
रकम अभाव नभए एक वर्ष भित्र मुआब्जा वितरणको काम सक्ने वातावरण मुआब्जा वितरण, पुनर्वास तथा पुनर्स्थापना इकाइले बताएको छ । ‘रकम भए हामी सबै प्रभावितलाइ एकै पटक मुआब्जा बाड्न तयार छौ,’ इकाइका संयोजक कार्कीले भने, ‘तर मालपोत र नापीमा आयोजनाकै लागी भनेर छुट्टै कर्मचारी छैनन् सिमित कर्मचारीले सबै काम गर्नुपर्दा केही ढिलाइ हुन गएको छ ।’
घर/गोठ सबै गरेर मुआब्जाका लागी मात्र करिब ५० अर्व रकम आवश्यक पर्ने उनले जानकारी दिए । मुआब्जा वितरणका लागी हाल सम्म १५ अर्व रकम निकासा भएको छ । ‘पहिलो चरणमा पाँच अर्व रकम आएको थियो, गोरखा र धादिङलाइ आधा आधा गर्यौ, दोस्रो चरणमा दश अर्व आएको छ, यसलाइ पनि दुवै जिल्लामा पाँच/पाँच अर्व छुट्याइएको छ,’ कार्कीले भने ।
हाल सम्म गोरखाका ८ सय र धादिङका १२ सय गरी कुल दुइ हजार प्रभावितलाइ मुआब्जा वितरण गरिएको इकाइले जनाएको छ ।
पहिलो चरणमा गोरखा तर्फ साविकको घ्याल्चोक, दर्वुङ र भूम्लिचोक गाविसका प्रभावितहरुलाइ मुआब्जा वितरण गरिएको हो । दोस्रो चरणमा गोरखा तर्फ साविकको फुजेल, बुंकोट र नाम्जुङ गाविसका प्रभावितहरुलाइ मुआब्जा वितरण गर्ने तयारी भइरहेको इकाइ संयोजक कार्कीले बताए ।
आरुघाट र आर्खेत बजारको मुआब्जा निर्धारणको तयारी
आयोजना डुवान क्षेत्रमा पर्ने गोरखाको आरुघाट र आर्खेत बजारको मुआब्जा निर्धारणको लागि तयारी भइरहेको छ ।
डुवानमा पर्ने बजार क्षेत्र निर्धारण गर्नका लागि गोरखाका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन भएको थियो । उक्त समितिले बजार क्षेत्रको निरीक्षण गरी प्रतिवेदन समेत बुझाइसकेको छ । सोही प्रतिवेदनको आधारमा बजार क्षेत्र एकिन गरेर मुआब्जा निर्धारण गरिने कार्कीले बताए ।
१२ सय मेगावाट क्षमताको उक्त जलबिद्युत आयोजनाबाट गोरखा र धादिङ गरी कुल ३ हजार ५ सय ६० घरधुरी बिस्थापित हुनेछन् भने ८ हजार १ सय १७ घरपरिवार प्रभावित हुने आयोजनाले जनाएको छ ।
गोरखाको साविकका १४ गाविस र धादिङको १३ गाविस आयोजनाबाट प्रभावित हुनेछन् । onlinekhabar
Comments are closed.