चैत्र १५, झण्डै ८ वर्षअघि मागी बिहे गरेका विक्रम र सरला काफ्लेको बैबाहिक सम्वन्ध राम्रो छैन । विक्रमसँग सँगै बस्न नसक्ने भएपछि सरलाले जिल्ला अदालतमा माना चामलको मुद्दा हालेकी छन् ।
तर, आफ्नो रिसले ६ वर्षे छोरालाई तातो आइरनले डाम्नेसम्मको हर्कत सरताले गर्लिन भनेर विक्रमले सोचेका समेत थिएनन् ।
आफू काठमाडौं भएको बेला सरलाले छोरालाई आइरनले छाडेपछि विक्रम विराटनगर पुगेका छन् भने सरला प्रहरी हिरासतमा छिन् ।
उनीविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता भएको छ ।
अस्पताल होइन, स्कुल पठाइन्
विराटनगर-३ कमलमार्गकी सरलाले सोमबार राति ६ वर्षीय सिम्पललाई तातो आइरनले शरीरभर डामेकी थिइन् ।
आइरनले पोलेर सिम्पलको ढाड र पाखुरामा घाउ लागेको छ । तर, उपचारका लागि अस्पताल लगेनन्, विहान भएपछि झोला बोकाएर स्कुल पठाइन् ।
अन्नपूर्ण बोर्डिङ स्कुलमा युकेजीमा अध्ययनरत सिम्पल बिहान स्कुल गए । तर, असहज महसुस गरेको जस्तो लागेर शिक्षकले कपडा खोलेर हेर्दा जिउभर आइरनको डामैडाम भेटिएको थियो ।
विराटनगरका विक्रम र झापा गैरीगञ्जकी सरलाबीच ०६७ सालमा मागी विवाह भएको थियो । विवाहपछि विक्रम वैदेशिक रोजगारीका शिलशिलामा युएई पुगे । उनी २०१३ मा नेपाल फर्किएका थिए ।
उनी नेपाल फर्किनु अघि सरला पनि युएई पुगेकी थिइन् र श्रीमानसँग सात महिना बसेर आएकी थिइन् ।
तर, नेपाल फर्किएपछि परिवारमा कलह सुरू भयो । अनावश्यक विवाद हुन थालेपछि विक्रमका आमाबुबा छोराबुहारीसँग छुटिएर काठमाडौं बस्न थाले ।
आमाबुबासँग छुटि्टएपछि पनि विक्रम र सरलाबीच मेल हुन सकेन । विक्रमले जेठमा जिल्ला अदालत मोरङमा सरलाविरुद्ध घरेलु हिंसा र अंश मुद्दा हालेका थिए । यो मुद्दा अहिले पनि विचाराधीन छ ।
सरलाले पनि अदालतमा विक्रमविरुद्ध माना चामल सम्वन्धी मुद्धा हालेकी छन् ।
दुबै मुद्दा विचाराधीन रहेकै अवस्थामा विक्रम १ माघमा काठमाडौंमा आए र आमाबुबासँग बस्न थाले ।
सिम्पललाई पनि ल्याउन चाहेको तर, सरलाले नदिएको उनी बताउँछन् ।
तर, सोमबार नसोचेको घटना भयो ।
प्रहरी हिरासतमा रहेकी सरलाले रिसको झोकमा छोरालाई आइरनले डामेको प्रहरीसमक्ष स्वीकार गरेकी छिन् ।
विक्रमले भने उनलाई कडा कारबाही गर्न माग गरेका छन् । ‘आफनै सन्तानलाई यातना दिने आमालाई क्षमा दिन सकिन्नँ’ विक्रमले भने, ‘सिम्पलको बुबा भएको नाताले छोराको न्यायका लागि लड्छु ।’
उनका अनुसार चार महिना अघि पनि सरलाले टर्चले सिम्पलको टाउकोमा हानेर घाइते बनाएकी थिइन् । अनलाइनखबर
Comments are closed, but trackbacks and pingbacks are open.