चैत १६, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले पूर्ववर्ती सरकारले राज्यको मर्यादाक्रम निर्धारणमा सन्तुलन कायम गर्न नसकेको गुनासो गरेका छन् ।
बिहीबार बसेको प्रदेशसभा बैठकको शून्य समयमा बोल्ने सांसदहरुले उठाएका बिषयहरुको जवाफ दिदै मुख्यमन्त्री पोखरेलले मर्यादाक्रम निर्धारणमा सन्तुलन नमिलेको आफूले पनि महसुस गरेकाले त्यसलाई सच्याउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको जानकारी गराए ।
राज्यको मर्यादाक्रममा प्रदेश सरकार तथा प्रदेश सांसदहरुलाई तल राखिएको भन्दै त्यसलाई सच्याउन प्रदेश सरकारले केन्द्र सरकारलाई आग्रह गर्नुपर्ने कुरामा सांसदहरुको जोड थियो ।
मुख्यमन्त्री पोखरेलले संविधानमा प्रदेश सरकारलाई विभिन्न किसिमका अधिकार प्रदान गरेपनि केन्द्रीय सरकारबाट अधिकार प्रत्यायोजन नहुँदा काममा समस्या परेको भन्दै त्यस बिषयमा पनि केन्द्रीय सरकारसँग कुरा भैरहेको बताए ।
बैठकमा प्रदेश ५ प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले प्रदेश प्रदेश सरकारको तर्फबाट प्रदेश ५ अन्तर्गतका स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुको सेवा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक टेबुल गरेका थिए ।
Comments are closed.