Nepal's First Video FM

नेपालका ५ खेलाडी रिङमा उत्रँदै, कांस्य पदक जित्ने पक्का

497

१६ माघ, भारतको नयाँ दिल्लीमा जारी इन्डियन ओपन अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगिताको तेस्रो दिन मंगलबार नेपालका पाँच खेलाडी रिङमा उत्रँदैछन् ।

नेपालबाट ३ पुरुष र २ महिला खेलाडीले प्रतिस्पर्धा गर्ने सहायक प्रशिक्षक दिपक महर्जनले जानकारी दिनुभयो । दिल्लीस्थित त्यागराज स्पोर्ट्स कम्प्लेक्समा हुने क्वाटरफाइनल खेलमा पुरुषतर्फ मनोहर (म्याक्स) बस्नेत, भुपेन्द्र थापा मगर र विष्णुप्रसाद घलेले प्रतिस्पर्धा गर्दैछन् ।

महिलातर्फ सरस्वती राना मगर र पुनम रावलले प्रतिस्पर्धा गर्ने छिन् । आजको खेल जित्ने खेलाडीले कांस्य पदक पक्का गर्नेछन् ।पुरुषतर्फ लाइट हेवीवेट ८१ केजी तौल समूहमा म्याक्सले काजकिस्तानका जुसिप कुवानडिकसँग खेल्नेछन् ।

म्याक्सले नेपाली टोलीबाट पहिलो अन्तर्रा्ष्ट्रिय प्रतियोगिता खेल्न लागेका हुन् । यस्तै लाइटवेट ६४ केजी तौल समूहका भुपेन्द्रले भारतका धिराजसँग खेल्नेछन् । भुपेन्द्र क्यामरुनका अल्बर्ट मान्गुए अयिस्सीलाई पराजित गर्दै क्वाटरफाइनलमा पुगेका हुन् ।

पुरुषतर्फ नै वेल्टर ६९ केजी तौलका विष्णुले उज्वेकिस्तानका बाटुरोभ बोबो उस्मोनसँग खेल्ने छन् । बिष्णुले अफगानिस्तानका वासुद्दीन घाव्सीलाई अंकको आधारमा पराजित गर्दै क्वाटरफाइनलमा स्थान पक्का गरेका थिए ।

महिलातर्फ सागमा कास्य पदकधारी सरस्वतीले भारतीय खेलाडी स्विटी बूरासँग खेल्ने छिन् । मिडल ७५ केजी तौल समूहकी सरस्वती बाई पाएर क्वाटरफाइनलमा पुगेकी हुन् । यस्तै लाइट वेल्टर ६४ केजी तौल समूहमा पुनमले ताजिकिस्तानकी खोलोभा इडीमोखविरुद्ध खेल्ने छिन् ।

२३ राष्ट्रको सहभागिता रहेको प्रतियोगितामा हालसम्म नेपालले १ कास्य पदक पक्का गरिसकेको छ । नेपालकी विमला श्रेष्ठले कास्य पदक पक्का गरेकी छिन् । नेपालका ६ खेलाडी भने बाहिरिसकेका छन् ।

You might also like

Comments are closed.