चैत १६, यही चैत २३ गते हुन गइरहेको शिक्षकको आन्तरिक परीक्षा स्थगितको माग राख्दै शुक्रबार सयुक्त विद्यार्थी संगठनले एक घण्टा चक्काजाम गरेका छन् ।
उनीहरुले शिक्षक सेवा आयोगले लिइने उक्त परीक्षामा अस्थायी शिक्षकलाई स्थायी बनाउन लागेका भन्दै परीक्षा स्थगितको माग गरी दिउँसो १२ देखि १ बजेसम्म माइतीघर मण्डलामा चक्काजाम गरेका हुन् ।
चक्का जामका कारण उक्त क्षेत्रको सवारी साधन चल्न पाएनन । उनीहरुले शिक्षा ऐन–२०२८ को नवौ संशोधन बमोजिम आन्तरिक विज्ञापन गरी अस्थायी शिक्षकलाई स्थायी बनाउन लागेको भन्दै परीक्षा स्थगितको माग गरेका हुन ।
चक्काजामपछि आयोजित सभामा नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले परीक्षा स्थगित गरी शिक्षक अनुमतिपत्र लिएका दक्षजनशक्तिलाई समावेश गरी पुनःविज्ञापन समेत गर्न माग गरे । उनले हालै गरिएको शिक्षा ऐन–२०२८ को नवौ संशोधन खारेज गर्न समेत माग गरे ।
कार्यक्रममा अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङले पढेलेखेका दक्षजनशक्तिलाई पन्छाएर पुराना शिक्षकलाई स्थायी गर्न नमिल्ने बताए । ‘‘पढेलेखेका दक्ष विद्यार्थीको भविष्यलाई अन्धाकार बनाउन पाइदैन’’ उनले भने–‘‘यथाशक्य परीक्षा स्थगित गर्ने निर्णय गरियोस् ।’’
यसैगरी अनेरास्ववियुका उपाध्यक्ष महेश बर्तौलाले परीक्षा स्थगित नहुदासम्म आन्दोलन जारी रहने बताउँदै सरकारले बल प्रयोग गरी परीक्षा सञ्चालन गरे त्यसको प्रतिवादसमेत गर्ने धारणा व्यक्त गरे ।
परीक्षा स्थगितको माग गदै त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा अध्ययन गरेका हेमराज थापा, राजन लम्साल र मिलन बाँस्तोला यही चैत १२ गतेदेखि माइतीघर मण्डलामा आमरण अनशनमा बसेका छन् ।
Comments are closed, but trackbacks and pingbacks are open.