Nepal's First Video FM

कांग्रेसले ‘फू’ गरे सरकार ढल्ने नेता कोइरालाकाे भनाइ

591

चैत १७, कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले गलत काम गर्दै गए कांग्रेस ढाल्ने शक्ति राखेको बताएका छन् । गिरिजाप्रसाद कोइरालाको आठौं स्मृति दिवसका अवसरमा कांग्रेसले तनहुँको व्यास ४ मा बिहीवार आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

‘गिरिजाबाबुले २०५१ सालमा एमालेको सरकारलाई ढाल्नुभयो,’ उनले भने, ‘अहिले पनि सरकारले जथाभावी काम गर्दै गए कांग्रेस चुप लागेर बस्दैन। सरकार ढाल्ने शक्ति छ, कांग्रेसले फु गरे सरकार ढल्छ।’ प्रधानमन्त्री केपी ओली अधिनायकवादतर्फ लम्केको उनले आरोप लगाए।

ओली सरकारले न्यायालयमा समेत हस्तक्षेप गरेको बताएका उनले प्रधानमन्त्री र राष्ट्रपति निर्वाचन प्रक्रियादेखि प्रधानन्याधीशको पदमुक्त गर्ने कार्यशैली विधी र प्रक्रिया भन्दा बाहिर भएको उनले बताए। ‘यो कार्यशैली संसदीय पद्धति विपरित छ,’ उनले भने, ‘प्रधानमन्त्री ओलीको कार्यशैली लोकतन्त्र नै समाप्त पार्ने मनसायको छ। मुलुक अधिनायकवादतर्फ उन्मुख भएको छ।’ लोकतन्त्रमाथि आक्रमण गरे कांग्रेस चुप लागेर नबस्ने बताएका उनले सदनदेखि सडकसम्म आन्दोलन गर्ने चेतावनी दिए। प्रतिपक्षमा रहेको आफ्नो पार्टीले सरकारको गुण र दोष आधारमा समर्थन र विरोध गर्ने भएकाले अधिनायकवादतर्फ अघि बढे सशक्त भएर प्रतिकारमा उत्रने उनले बताए।

अर्को प्रसंगमा उनले पार्टी कार्यकर्तालाई सन्बोधन गर्दै सशक्त प्रतिपक्ष हुन बलियो कांग्रेस आवश्यक रहेको बताए। उनले गुट उपगुटमा नलागी एकजुट हुनु पर्नेमा जोड दिए।

Kantipur Daily

You might also like

Comments are closed.