Nepal's First Video FM

५ हजार ७ सय २४ भूकम्प पिडितले नाम छुटेको भन्दै निवेदन दिए

543

१६ माघ, चितवनका भूकम्प पिडितले लगत संकलनमा आफ्नो नाम छुटेको भन्दै ५ हजार ७ सय २४ जनाले राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको कार्यालयमा निवेदन दिएका छन् ।

कार्यालय प्रमुख राजेन्द्र कार्कीका अनुसार भरतपुर महानगरपालिकाबाट ३ सय ६४ वटा र रत्ननगर नगरपालिकाबाट ९ सय ८७ निवेदन प्राप्त भएका हुन् ।

यस्तै, खैरहनी नगरपालिकाबाट ५ सय २७, राप्ती नगरपालिकाबाट ९ सय २२, माडी नगरपालिकाबाट १५, कालिका नगरपालिकाबाट एक हजार ७ सय ८० र इच्छाकामना गाउँपालिकाबाट एक हजार १ सय २९ जनाले निवेदन दर्ता गराएको कार्यालयका प्रमुख कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार उजुरी आउने क्रम जारी छ । विसं २०७२ वैशाख १२ मा गएको भूकम्पका कारण जिल्लामा ७ हजार ३ सय ३५ घरपरिवारको भौतिक संरचनामा क्षति भएको तथ्याङ्क उतारिएको थियो ।

सो तथ्याङ्क लिँदा आफूहरु छुटेको भन्दै उनीहरुले पुनःनिर्माण र मर्मतका लागि निवेदन दर्ता गराएका हुन् । कार्कीका अनुसार छुटेकाको संख्या पनि झण्डै सात हजार हाराहारी पुग्ने अनुमान छ ।

शुरुमा निवेदन दिएका र प्रमाणित भएकामध्ये पहिलो किस्ता पाँच हजार ३ सय २३ जनाले लिइसकेका छन् । दोस्रो किस्ताका लागि १ सय ९१ घर परिवारले निवेदन दिएका छन् । उनीहरुको निवेदन शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयबाट प्रक्रिया अघि बढिसकेको छ ।

तीमध्ये पनि १३ जनाले अन्तिम किस्ताका लागिसमेत निवेदन दिएको कार्यालयका प्रमुख झपटबहादुर थापाले जानकारी दिनुभयो । पहिलो किस्तामा रु ५० हजार, दोस्रो किस्तामा रु एक लाख ५० हजार र तेस्रो किस्तामा रु एक लाख दिने व्यवस्था छ ।

मर्मतका लागि भने ३ सय ५९ घरले रु ५० हजार लगिसकेका छन् । मर्मत गर्नु पर्ने घर ५ सय ९३ छन् । उनीहरुले रु एक लाखसम्म मर्मतका लागि पाउने व्यवस्था छ ।

You might also like

Comments are closed.