Nepal's First Video FM

सुरक्षागार्ड तामाङको हत्या अभियोगमा एक जना पक्राउ

369

१६ माघ, काठमाडौं महानगरपालिका–२५ मछेन्द्र बहालस्थित सोमबार अज्ञात व्यक्तिको आक्रमणमा परी मृत्यु भएका तुलबहादुर तामाङको हत्या अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् ।

दोलखा, शैलुङ गाउँपालिका घर भई इस्टुवेट सेक्युरिटी कम्पनीमा गार्डका रुपमा काम गर्ने तामाङ घाइते भई लडिरहेको अवस्थामा सोमबार बिहान १ बजे महानगरीय प्रहरी वृत्त जनसेवाले फेला पारी उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर, वीर अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।

महानगरीय अपराध महाशाखाको टोली र प्रहरी वृत्त जनसेवासमेतको संयुक्त टोलीले अनुसन्धानका क्रममा सो घटनामा संलग्न मकवानपुर, थाहा नगरपालिकाका राजन थापा क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ ।

अनुसन्धानका क्रममा निज राजन थापा क्षेत्री मछेन्द्रबहाल चोकमा सेक्युरिटी गार्डका रुपमा काम गर्ने गरेको र मृतक तामाङसँग तीन–चार महिनादेखि चिनजान भई एकै ठाउँमा काम गर्दै आएको खुलेको छ ।

‘ड्यूटी’को विषयलाई लिई दुईबीच वादविवाद हुँदै आएकामा गत आइतबार राति निज थापा क्षेत्रीले तामाङलाई आफू ड्यूटी गर्न आउन नसक्ने भनी जानकारी गराउन जाँदा विवाद भएपछि क्षेत्रीले पटक पटक इँटाले टाउकामा प्रहार गरेर तामाङको हत्या गरी भागेको खुल्न आएको प्रहरीले जनाएको छ । अभियुक्त क्षेत्रीलाई मुलुकी ऐन ज्यानसम्बन्धी महल बमोजिम कारबाही अघि बढाइने भएको छ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.