१७ चैत । पर्सामा स्थानीयले प्रहरीललाई कुटपिट परेका छन् । स्थानीयको आक्रमणबाट पाँच जना प्रहरी घाइते भएका छन् । डकैती गरेर नेपालमा लुकेर बसेको आशंकामा पर्साको सखुवा प्रसौनी गाँउपालिका–५, महुवन पुगेको प्रहरीमाथि स्थानीयले शुक्रबार आक्रमण गरेका हुन् ।फरार अभियुक्तलाई नियन्त्रणमा लिने क्रममा १०/१५ जनाको समूहमा आएका मानिसहरुले प्रहरीको गाडी रोकेर हँसिया, लाठीले प्रहार गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजन लिम्बुले बताए ।
झडपपछि जिल्ला प्रहरी कार्यालय पर्सा र इलाका प्रहरी कार्यालय पोखरीयाको टोली घटनास्थल पुगेर घाइतेको उद्धार गरेको थियो । जिल्ला प्रहरी कार्यालय, पर्साले घटनाको पुष्टि गर्दै प्रहरीहरु सञ्जय कुमार जयसवाल, अनिल यादव, राजेशकुमार यादव, नवीन पाल र ऋतुराम सोनार घाइते भएको जनाएको छ । घाइते प्रहरीको ठेगाना र दर्जा भने खुलाइएको छैन ।
प्रहरी टोलीमाथि नै आक्रमण गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले तीन स्थानीयलाई पक्राउ गरेको छ । स्थानीय जिर्योधन महतो, मुन्नीलालप्रसाद कुशवाहा र सिताराम प्रसाद कुशवाहा पक्राउ परेका हुन् । प्रहरीका अनुसार, आक्रमणमा परी सामान्य घाइते भएका प्रहरीहरु नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारपछि काममा फर्केका छन् ।
पर्साको कालिकामाई गाउँपालिका–१ को गाँजा मुद्दाका फरार अभियुक्त महुवनमा रहेको सूचना पाएपछि प्रहरी चौकी महुवन र जिल्ला प्रहरी कार्यालय पर्साको टोली त्यहाँ पुगेको थियो । प्रहरी त्यहाँ पुगेलगत्तै स्थानीयले प्रहरीमाथि आक्रमण गरेका थिए ।
फरार अभियुक्त भारतमा डकैती र हत्यामा संलग्न व्यक्ति रहेको दावी प्रहरीको छ । स्थानीयको प्रतिकार पछि अभियुक्त भागेका छन् ।
Comments are closed.